यस्तो थियो २ हजार वर्ष पुरानो कम्प्युटर, भित्री कुरा पत्ता लाग्यो

लण्डन । संसारकै सबैभन्दा पुरानो कम्प्युटरको संज्ञा दिइएको एउटा २ हजार वर्ष पुरानो यन्त्रले कसरी काम गर्थ्यो भन्ने गुह्य कुरा पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूले त्यसको पुनःसंरचना गरेका थिए । एन्टिकाइथेरा मेकनिजम नाम दिइएको उक्त उपकरण रोमनकालमा ग्रीसमा बिग्रिएको एउटा पानीजहाजको भग्नावशेषमा सन् १९०१ मा फेला परेको थियो ।

उक्त उपकरण चलाउन हातले दम दिनुपर्थ्यो । त्यसको प्रयोग ग्रहण र अन्य खगोलीय घटनाको गणना गर्न हुने गरेको अनुमान गरिएको छ ।

भेटिँदा उक्त उपकरणको एकतिहाइ भाग मात्र यथावत् थियो । अनुसन्धानकर्ताहरूले सग्लो अवस्थामा उक्त उपकरण कस्तो देखिन्थ्यो र त्यसले कसरी काम गर्थ्यो होला भन्ने अनुमान गर्नुपरेको थियो ।

पहिला भएका अध्ययनहरूबाट उक्त यन्त्रको पृष्ठभागबारे धेरै कुरा पत्ता लागेको थिए । अग्रभागको जटिल गिअरिङ प्रणाली बुझ्न सकिएको थिएन ।

यूनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले थ्रीडी कम्प्युटर मोडलिङ प्रयोग गरेर त्यसको पनि रहस्योद्घाटन गरिएको बताएका छन् ।

उनीहरूले पूरै अग्रभागको प्रारूप बनाएका छन् र आधुनिक सामग्री प्रयोग गरेर पूर्ण स्वरूपमै एन्टिकाइथेरा यन्त्रको प्रतिलिपि बनाउन सकिने अपेक्षा गरेका छन् ।

शुक्रवार साईअन्टिफिक रिपोर्ट्स नामक जर्नलमा प्रकाशित शोधले गिअरिङ प्रणालीको वृत्तान्त र त्यसका जटिल भागबारे चर्चा गरेको छ ।

पृष्ठभागको ढकनीमा ब्रह्माण्डीय संरचनाको वर्णन छ। त्यसमा उक्त उपकरण निर्माण गर्दा चिनिएका पाँचवटा ग्रहहरूको गति देखाइएको छ । सन् १९०१ उक्त उपकरणका ८२ वटा टुक्रा फेला परेका थिए ।

वैज्ञानिकहरूले एक्स(रे डेटा र प्राचीन ग्रीन गणितीय पद्धति प्रयोग गरेर पूर्ण आकृतिको पुनर्रचना गरेका थिए । बीबीसी

Published : Sunday, 2021 March 14, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया