नेताहरूले खेलाडीबाट अनुशासन सिक्नुपर्छः कांग्रेस नेता लेखक

बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले खेलकुदको विकासमा सबैले योगदान गर्नुपर्ने बताएका छन् ।

बैतडीको दशरथ चन्द नगरपालिकाद्वारा आयोजित वडास्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको समापन समारोहमा नेता लेखकले खेलकुदको विकास भयो भने अनुशासन कायम हुने बताए ।

नेता लेखकले भने, ‘बैतडी जिल्लाका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ कीर्तिमान कायम गर्न सफल भएर जिल्लाको गौरव बढाउने काम गरेका छन् ।’

नेता लेखकले खेलाडीहरूले खेल खेल्दा अनुशासनमा बस्ने भएकाले खेलाडीहरूबाट राजनीतिकर्मीहरूले पनि अनुशासन सिक्नु पर्ने बताए ।

प्रतियोगितामा विजेता दशरथचन्द नगरपालिका वडा नम्बर – ४ को टोलीलाई ७५ हजार नगदसहित ट्रफी प्रदान गरिएको छ ।

उप–विजेता दशरथचन्द नगरपालिका वडा नम्बर – ५ को टोलीलाई ५० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Published : Tuesday, 2021 March 9, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया