वीपीले मन पराएका घोइरो कामीको निधन, बुधबार अन्त्यष्टि

बेसीशहर । नेपाली कांग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी दलबहादुर कामी उर्फ ‘घोइरो कामी’को निधन भएको छ ।

कामीको मंगलबार साँझ ८४ वर्षको उमेरमा मध्यनेपाल नगरपालिका–६ भार्लेटारमा निधन भएको आफन्तले जनाएका छन् । उनी नाती चन्द्र कामीसँग बस्दै आएका थिए ।

कामी जेठ महिनादेखि मुटुको समस्या र दमले च्यापेपछि बिरामी परेका थिए ।

राणाशासनविरुद्ध कांग्रेसले २००६ मा शुरु गरेको आन्दोलनमा कामीले लमजुङमा सक्रिय सहभागिता जनाएका थिए ।

लमजुङको इशानेश्वर क्षेत्रमा कांग्रेसको झण्डा बोकेर ‘राणाशासन मुर्दावाद’ भनी स्थानीय दलबहादुर कामी निस्किएका थिए । कामी त्यस बेला जम्मा १४ वर्षका मात्रै थिए ।

एक जना दलित समुदायका व्यक्ति कांग्रेसको झण्डा लिएर गाउँगाउँ पुगेपछि उनमा सबैको आँखा पएको थियो ।

वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताले राणाशासनविरोधी कामीको कदमको प्रशंसा गरेका थिए । उनीहरूका नजरमा कामी साहसी, अनुशासित तथा इमान्दार थिए ।

१९९३ सालमा इशानेश्वर चिसंकुमा जन्मिएका कामीलाई प्रजातन्त्र स्थापनामा योगदान पु¥याएको भन्दै ‘प्रजातन्त्र सेनानी’ को उपाधि दिइएको थियो ।

आन्दोलनमा एकोहोरो रूपमा लागेकाले उनलाई ‘घोइरो कामी’ भनेर बोलाउन थालिएको थियो । पछि उनी घोइरो कामीको नामले चर्चित भएका थिए ।

कामीको इमान्दारिता देखेर कृष्णप्रसाद भट्टराईले आफ्नो कोट फुकालेर दिएका थिए । कोटको गोजीमा पैसा भेटिएपछि फिर्ता गरेको घटना कामी सुनाएका थिए ।

यो विषय कांग्रेसवृत्तमा अहिले पनि चर्चा हुने गरेको छ । कांग्रेस पार्टीले उनको योगदानबारे चासो नदिँदा कामी पार्टीको कुनै पनि पदमा पुगेनन् ।

श्रीमतीको दुई दशकअघि नै निधन भइसकेको थियो । सरकार, छोराछोरी, कांग्रेस पार्टी कसैले उपचार र बसोबासमा सहयोग नगरेको कामीले गुनासो गर्दै आएका थिए । घोइरो कामी बिरामी हुँदा कांग्रेस नेता, कार्यकर्ता, सरकार कसैले वास्ता गरेन ।

गण्डकी प्रदेश सदस्य दोबाटे विश्वकर्मा, कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, कांग्रेस पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, कांग्रेस महासमिति सदस्य तथा मध्यनेपाल नगर प्रमुख रमेशकुमार पाण्डेलगायतको उपस्थितिमा बुधबार कामीको अन्त्येष्टि गरिएको छ ।

कामी बीपी स्मृति ट्रस्टद्वारा २०७२ मा सम्मानित भएका थिए । कांग्रेस जिल्ला कार्यसमितिले ६ वर्षअघि १०२ औं बीपी जन्मजयन्तीको अवसरमा सम्मान गरेको थियो ।

प्रजातन्त्र प्राप्तिपश्चात् तत्कालीन सरकारले आन्दोलनमा उनको योगदानको सम्मानस्वरूप नवलपरासीमा ३ कट्ठा जग्गा बकस दिएको थियो ।

त्यही जग्गा बिक्री गरेर कांग्रेस नेता कामी गृहजिल्ला लमजुङको फर्केर भोर्लेटारमा बसाइँ सरेका थिए ।

Published : Thursday, 2020 November 26, 7:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया