भ्रष्ट कम्युनिस्टको भण्डाफोर गर्न नेविसंघलाई कांग्रेस नेता जोशीको निर्देशन

कुश्मा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले कोरोनाभाइरसका कारण शिक्षा क्षेत्रमा गम्भीर असर परेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्वतको जिल्ला कार्यसमितिको बैठकलाई बुधबार सम्बोधन गर्दै कांग्रेस नेता जोशीले शिक्षा क्षेत्रको बैकल्पिक व्यवस्थामा सरकारले कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । कोरोनाका कारण लाखौँ विद्यार्थीको भविष्य संकटमा पर्दा समेत कम्युनिस्ट सरकारले कुनै रचनात्मक कार्यक्रम ल्याउन नसकेको बताए ।

नेता जोशीले जनताले झण्डै दुईतिहाइको जनमत दिँदा पनि कम्युनिस्ट सरकारले जनतालाई सुशासन दिन छाडेर भ्रष्टाचारमा लिप्त भएको बताएका छन् । उनले कम्युनिस्ट सरकारकै कारण जनताले दुःख पाएको बताए ।

उनले नेविसंघलाई कांग्रेसको नर्सरी रहेको भन्दै पर्वत जिल्लामा रहेका सात वटा गाउँपालिका र नगरपालिकामा संगठनका गतिबिधिहरू तीब्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् ।

कांग्रेस नेता जोशीले कम्युनिस्ट सरकारका गलत कार्यहरूको गाउँमा पुगेर भण्डाफोर गर्न पनि नेविसंघका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

यसैबीच, नेविसंघले पर्वतका सात वटा स्थानीय तहमा कोभिड–१९ सम्बन्धि जनचेतना मूलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

कोरोनाको रोकथाम र नियन्त्रणका लागि वडामा पुगेर जनचेतना मूलक कार्यक्रम गर्ने र आवश्यक ठाउँमा स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको नेविसंघ पर्वतका सभापति मिलन सुवेदीले जानकारी दिएका छन् ।

संगठन विस्तार अभियानलाई अझै शसक्त रुपमा अगाडि बढाउने, स्थानीय निकाय तथा सार्वजानिक क्षेत्रमा भएको बेतिथी विकृतिलाई न्यून बनाउनका लागि पालिका नेविसंघलाई प्रोत्साहित गर्ने र कोभिड–१९ का कारण आक्रान्त पारेकोले स्थानीयस्तर, टोल र बस्तीमा पुगेर जनचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय नेविसंघले गरेको छ ।

जनचेतना मुलक अभियान संचालनका लागि कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले आवश्यक मास्क र सेनिटाइजर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली कांग्रेस पर्वतका जिल्ला सभापति खिमप्रसाद भुसाल र नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शैलेन्द्र गौडेललले कांग्रेस एकजुट भए आगामी निर्वाचनमा सजिलै विजय हासिल गर्न सकिने बताएका छन् ।

Published : Wednesday, 2020 November 25, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया