काठमाडौंमा ओली समूहको गोप्य भेला, दाहाल समूहलाई यसरी ठेगान लगाइने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधामन्त्री खड्गप्रसाद ओली निकटका युवा विद्यार्थीले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाउने तयारी गरेका छन् ।

काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेजमा बुधबार भएको गोप्य भेलामा ओली निकटका युवा विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।

स्रोतका अनुसार पार्टीभित्रको अन्तरसंघर्ष बढेर गएको भन्दै ओली निकटका युवा विद्यार्थी नेताहरूले दाहाल–नेपाल समूहले ओलीविरुद्ध सामाजिक सञ्जालका साथै आवश्यक पर्‍यो भने सडकमा उत्रिनेसम्मको तयारी भएको छ ।

गोप्य भेलामा अनेरास्ववियूका संयोजक ऐन महरको नेतृत्वमा भएको थियो । भेलामा विद्यार्थी नेता आरसी लामिछाने, सुनिता वराल, रश्मी आचार्यलगायतको सहभागिता रहेको एक नेताले बताए ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहालले सचिवालयको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई किताबकै रुपमा छपाएर तल्लो तहका कमिटीसम्म पठाएपछि नेकपाको विवाद झन् बढेर गएको छ ।

समस्यामा पर्दा ओलीले बेलाबेला आफू निकटका युवा विद्यार्थीलाई सडकमा उतार्ने गरेका छन् । सचिवालयका पाँच जना नेताहरू एकठाउँमा जम्मा भएर ओलीलाई समस्यामा पार्दै आएका छन् ।

दाहालका साथै नेता नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पद छाड्नुपर्ने अडानमा छन् । ओली दुबै पद नछाड्ने पक्षमा छन् ।

दाहालले ओलीबिरुद्ध कातिक २८ गते १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । ओली समूहले दाहालको राजनीतिक प्रतिवेदनलाई अभियोग आरोप पत्र भनेर आलोचना गर्दै आएको छ ।

दाहालको प्रतिवेदनको भण्डाफोर गर्न ओली समूह कम्मर कसेर लागेको छ । ओली निकटका सञ्चारगृह र पत्रकारहरू पनि दाहालको प्रतिवेदनको भण्डाफोर अभियानमा लागेको एक नेताले बताएका छन् ।

Published : Wednesday, 2020 November 25, 4:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया