अधिनायकवादी सरकार र रामेछाप प्रहरीसँग आमनेसामने हुन पुग्यो तरुण दल, कुख्यात मतियारलाई तनाब

काठमाडौं । नेपाल तरुण दलले रामेछाप जिल्लामा तरुण अध्यक्षसहित तीन जनाविरुद्ध अधिनायकवादी कम्युनिस्ट सरकारले मुद्धा दर्ता गरेर दुःख दिएको भन्दै आक्रोश पोखेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्कालगायत तीन जनाविरुद्ध ज्यान मार्ने मुद्धा दर्ता गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–५ नामाडीको घटनाको वास्तविकतालाई पन्छाएर राजनीतिक पूर्वाग्रह साँधेर नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’लगायतका तरुण नेता साथीहरूविरुद्ध नेकपाको भ्रष्ट एवं अधिनायकवादी ओली सरकारको सत्ता र शक्तिको आडमा केही छुद्र एवं दलिल भावनाले प्रेरित भएका प्रहरी प्रशासनका व्यक्तिहरूसंगको मिलेमतोमा षड्यन्त्र तथा कपटपूर्ण ढंगबाट ज्यान मार्ने मुद्धा दर्ता गरिएकोप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकर्षण भएको छ’, विज्ञाप्तिमा भनिएको छ ।

‘लोकतन्त्र र कानूनी शासनप्रति प्रतिवद्ध तरुण नेताहरूमाथि वर्तमान ओली सरकारले देखाएको निकृष्ट, दलिल एवं जनविरोधी प्रवृत्तिको नेपाल तरुण दल केन्द्रीय समिति घोर निन्दा र भर्त्सना गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘शान्तिपूर्ण ढंगबाट जनताको सेवामा अहोरात्र लागिरहेका नेपाल तरुण दल रामेछापका अध्यक्ष लगायतका तरुण साथीहरूमाथि लगाइएको जालझेल र कपटपूर्ण झुठा मुद्धा अविलम्ब फिर्ता लिन दल जोड्दार माग गर्दछ’, तरुण दलले चेतावनीसहित भनेको छ ।

‘कानूनी राज्यको उपहास गर्दै राजनीतिक प्रतिशोध राखी अन्यायपूर्ण ढंगबाट सत्ता र शक्तिको आडमा लगाइएको झुठा मुद्धा तत्काल फिर्ता लिएर जनतालाई शान्तिपूर्ण बाँच्न पाउने संवैधानिक अधिकारको ग्यारेन्टी गर्न दल वर्तमान कम्युनिष्ट भ्रष्ट ओली सरकार र यसका कुख्यात मतियारहरूलाई चेतावनी दिन चाहन्छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘हाम्रो धैर्यतालाई वेवास्ता गरी राज्य आतंक मच्याउँदै भ्रष्ट र अपराधीहरूको संरक्षणमा मात्र लागिरहेको वर्तमान सरकार देश र जनताप्रति जिम्मेवार हाम्रा तरुण साथीहरूप्रति गिद्धेनजर लगाई दुःख दिइनै रहन्छ भने त्यसको विरुद्ध आन्दोलनको आँधीबेहरी सिर्जना गर्न दल बाध्य हुने र त्यसबाट उत्पन्न विषम परिस्थितिको जिम्मेवार सरकार आफै हुनुपर्ने चेतावनी पनि यसै विज्ञप्तिमार्फत दिन चाहन्छौं’, अध्यक्ष बस्नेतले भनेका छन् ।

सत्ता र शक्तिको आडनमा नेकपाका देवराज खड्काले तरुण अध्यक्ष काजीबहादुर खड्का तथा तरुण कार्यकर्ताहरू दीपक खड्का र सुमन खड्काविरुद्ध ज्यानमार्ने उद्योगको मुद्धा दर्ता गराएर दुःख दिएपछि तरुण दल केन्द्रीय कार्यसमिति मैदानमा उत्रिएको छ ।

Published : Friday, 2020 November 20, 3:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया