नेकपा निकटको मजदुर संगठनका ओखलढुंगा संयोजक कांग्रेसमा प्रवेश, खतिवडाद्वारा स्वागत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओखलढुंगाको मजदुर संगठनका संयोजक गोरखबहादुर सुनुवारसहितका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा संयोजक सुनुवारसहितका नेता कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टी प्रवेश गराएका हुन् ।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष देवबहादुर रोकाले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।

०४४ सालदेखि नेकपा (एमाले)को राजनीति गर्दै आएका सुनुवार कम्युनिस्ट नेताहरूको व्यक्तिवादी सोँच, चरित्र र धोकाको राजनीति गर्ने कार्यबाट आजित बनेर पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन् ।

नेकपा निकटका मजदुरहरूको संगठनको नेपाल ट्रेड युनियनका ओखलढुंगाको संयोजक सुनुवार काठमाडौं क्षेत्र नं. ४ मा ०७४ सालको निर्वाचनमा प्रचार प्रसार समितिको संयोजक भएर काम गरेका थिए ।

कांग्रेस प्रवेश गर्नेमा नेकपाको मजदुर संगठनका जिल्ला सदस्य झलकराम सुनुवार पनि रहेका छन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा सञ्चारकर्मी एवम् सहकारीकर्मी कृष्ण बुढाथोकी, सामाजिक क्षेत्रमा सक्रिय नेकपाका कुमार तामाङ, अखिलका नेता सञ्जीव खड्का लगायत रहेका छन् ।

नेपाली कांग्रेस प्रवेश गरेका उनीहरू सबै खिजीदेम्बा गाउँपालिका निवासीहरू हुन् ।

नवप्रवेशीहरूलाई कांग्रेस नेता खतिवडाले पार्टीमा स्वागत गर्दै कांग्रेसले कम्युनिस्टहरूले जस्तो झुठको खेती नगर्ने बताए ।

‘जनताले जिताएर राजनीतिक स्थिरताका लागि पठाएका छन्’, खतिवडाले भने, ‘कम्युनिस्ट नेताहरू व्यक्तिगत स्वार्थमा लागेर जनताका सामु निर्वाचनमा गरेको सबै कुरा भुलेर सत्ताको स्वार्थमा लागेका छन् ।’

खतिवडाले कांग्रेस प्रवेश गरेका सबै नवप्रवेशीहरूलाई पार्टीमा योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने आश्वासन दिए ।

Published : Wednesday, 2020 November 18, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया