ओली ‘पावरफुल’ बनेपछि दाहाल समूह चकित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले दोस्रो वरीयताका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेका छन् ।

बालुवाटारमा मंगलबार ओली र दाहालबीच सम्वाद भएको हो । सम्वादका क्रममा सचिवालयको बैठक बोलाउने विषयमा कुराकानी भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

ओली र दाहालबीच सम्वाद भएपनि सचिवालयको बैठक कहिले बस्ने हो वा बोलाउने हो केही भनिएको छैन । दाहालले सचिवालयको बैठक कात्तिक २७ गते बोलाउँदा उचित हुने धारणा ओलीसमक्ष राखेको जनाइएको छ ।

ओलीसँग भेट गरेपछि दाहाल पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेका थिए । धुम्बाराहीमा दाहाल निकट ५ जना सचिवालयका सदस्यहरूबीच सचिवालयको बैठक कात्तिक २७ गते ओलीद्वारा नबोलाइए कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श भएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालले बैठकपछि सम्वाददाताहरूसँग कुरा गर्दै कात्तिक २७ गते सचिवालयको बैठक बस्ने विश्वास लिएको बताएका छन् ।

यसअघि मंगलबार बिहान ओलीले दाहालसँग कुरा गर्न स्थायी समिति सदस्य शंकर पोखरेललाई खुमलटार पठाएका थिए । दाहाल र पोखरेलबीच कुराकानी भएको विषयमा बाहिर केही भनिएको छैन ।

दाहाल समूहले ओलीलाई दवाव दिएर सचिवालय बैठक बोलाएर विभिन्न निर्णयहरू गराउन खोजेको छ । सचिवालयमा अल्पमतमा रहेका ओलीले बैठक बस्नु अगाडि नै नेताहरूका बीच सहमति हुनुपर्ने पक्षमा छन् ।

ओलीले पार्टीको निर्णय नमानेको तथा एकलौटी रुपमा सरकार चलाएको भन्दै दोस्रो वरीयताका अध्यक्ष दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले भेला र बैठकहरू गर्दै आएका छन् ।

ओली सरकार र पार्टीमा ‘पावरफुल’ बनेर बसेपछि दाहाल समूहलाई तनाब भएको छ । दाहाल समूहले अप्रिय कदम पनि उठाउन सकेको छैन ।

Published : Tuesday, 2020 November 10, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया