कांग्रेस जनताकाे प्याराे पार्टी हो, उम्मेदवारी घोषणा गर्दा आफ्नो हैसियत भुल्नु हुँदैनः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले राम्रालाई भन्दा पनि आफ्नालाई च्याप्ने परम्पराले गर्दा नेपालका सबै राजनीतिक दलहरूमा समस्या देखिएको बताएका छन् ।

मंगलबार बिहान एउटा एफएम रेडियोसँगको कुराकानीका क्रममा खतिवडाले प्रधानमन्त्री ओलीले जनताबाट तिरस्कृति आफू निकटका व्यक्तिलाई अवसर दिँदा देशले संकट भोग्नु परेको बताए ।

‘प्रधानमन्त्री ओलीबाट आफ्नालाई खोजियो । दलभित्र रहेका राम्रा मान्छेलाई अवसर दिइएन’, उनले भने, ‘वडा सदस्य हारेकालाई राष्ट्रिय सभामा ल्याइएको छ । मेयरमा हारेकालाई प्रदेश प्रमुख बनाइएको छ ।’

खतिवडाले नेताको वरीपरी भएकाहरूलाई अवसर दिँदा योग्य नेता कार्यकर्ता सधैँ मर्कामा परेको बताए । उनले आफ्नालाई अवसर दिने कार्यले गर्दा देश र जनताको उन्नति हुन नसकेको बताए ।

‘पार्टीमा दुःख गर्नेहरू गाउँमा छन्’, खतिवडाले भने, ‘तालमेल अपनाउँदा नसक्दा पार्टीहरूभित्र समस्या भएको छ ।’

कांग्रेसका नेता खतिवडाले ओली सरकारसँग स्पष्ट बहुमत हुँदा पनि काम गर्न नसकेको आरोप लगाए । ब्याङ्गात्मक शैलीमा उनले भने, ‘कसैले नगरेको काम ओलीले गर्नुभएको छ । करोडौँ खर्च गरेर रारामा बैठक राख्नुभएको छ, कहिले बैंककबाट भिडियो कन्फ्रेन्स गर्नु हुन्छ, वार रुम बनाउनु हुन्छ, ओम्नी र यतीलाई संरक्षण गर्नुभएको छ ।’

खतिवडाले झण्डै तीन वर्षमा ओलीले ६ प्रतिशत पनि काम गर्न नसकेको आरोप लगाए । ओलीको काम भनेको बालुवाटार धाउनेलाई अवसर दिने मात्रै भएको आरोप उनले लगाएका छन् ।

‘प्रधानमन्त्री रोजगारका नाममा आफ्ना भरौटेहरूलाई जुम्रा हेर्न र भैँसी चराउन लगाएर पैसा बाँडिन्छ’, खतिवडाले भने, ‘योभन्दा बिडम्बना अर्को छैन । सरकार बलियो र भ्रष्ट छ ।’

कांग्रेसभित्रमा पनि केही समस्या रहेको खतिवडाले स्वीकार गरेका छन् । उनले पार्टीका शीर्ष नेताहरूबीच बेलाबेला देखिने बेमेलले कार्यकर्तालाई निराश बनाएको बताए ।

‘कांग्रेसमा नवधनाढ्यहरूलाई हामीले ल्यायौँ । काम गरेकाहरूलाई अपनाउन सकेका छैनौँ’, उनले भने, ‘मुलुकलाई कांग्रेसले निकास दिनुपर्छ । विगतमा पनि कांग्रेसले नेतृत्व गरेर निकास दिएको छ ।’ खतिवडाले अझै दुई वर्ष नेकपाले नै सरकार चलाउनुपर्ने बताए ।

‘निर्वाचनपछि कांग्रेस कमजोर भएको छ । हामीले गरेका कामलाई जनता समक्ष लैजान नसक्दा पराजित भयौँ’, उनले भनेका छन् ।

‘नेताहरूलाई महाधिवेशन लागेको छ । सभापति, महामन्त्री, उप–सभापति भनेर उम्मेदवारी आइरहेका छन्’, खतिवडाले भने, ‘यस्तो बेला कांग्रेसले संसद बोलाउन लगाएर आवाज उठाउनुपर्ने थियो । त्यो गर्न सकेका छैनौँ । जसरी आवाज उठाउन पर्ने थियो । उठाउन सकेका छैनौँ ।’

१४औँ महाधिवेशनमा नेताहरूबाट दाबी गरिएको उम्मेदवारीप्रति खतिवडाले ब्याङ्ग्य गर्दै भनेका छन्, ‘जिल्ला सभापति जित्न सक्छन् वा सक्दैनन् ? जिल्ला चलाउन सक्छन् कि सक्दैनन् । त्यस्ता साथीहरू पनि सभापतिमा उम्मेदवार भनेर हिँड्नु भएको छ ।

‘वीपी, सुवर्ण शम्शेर, गणेशमान सिंहले बनाएको पार्टी हो’, खतिवडाले भने, ‘कांग्रेस पार्टीलाई सामान्य रुपमा लिनु हुँदैन । आफ्नो हैसियत पनि हेर्नुपर्छ । उम्मेदवारी घोषणा गरेर चर्चामा आउने मात्रै कुरा गर्नु हुँदैन ।’

Published : Tuesday, 2020 November 10, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया