भाइटीकाको साइत ११:३७ मा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिटनको साइत दिएको छ ।

भाइटीका यस पटक मंसिर १ गते परेको छ । मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने बताए ।

उनले सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको जानकारी दिएका छन् ।

यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुनेछ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ ।

कात्तिक २८ गते काग तिहार परेको छ । धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। औंसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने कृत्यवाटिका नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

Published : Sunday, 2020 November 8, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया