कांग्रेसमा झगडा गरेर नेताहरू बलिया हुँदैनन्, मिलेर कम्युनिस्टसँग लडौँः उपाध्याय (अन्तर्वार्ता)

महालक्ष्मी उपाध्याय ‘डिना’, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

नेपाली कांग्रेसको १४औँ महाविधेशनलाई लिएर शीर्ष नेतृत्वका बीच आरोप प्रत्यारोपहरू चलिरहेका छन् । सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहले विभिन्न माग तथा आरोपहरू लगाएर बखेडा गरिरहेको छ । पौडेल–कोइराला समूहले सभापति देउवालाई ज्ञापन पत्र समेत बुझाएको छ ।

उनीहरूले विभाग खारेज गर्नसम्म माग गरेका छन् । कोरोनाका बिरामीको उपचार र परीक्षण निःशुल्क नगर्ने भनेर सरकारले हात उठाएका बेला कांग्रेसले मोर्चा कस्ने बेला पार्टीभित्र द्वन्द्व शुरु गरेका छन् । कांग्रेसभित्रको विषयमा पूर्वमन्त्री समेत रहेकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’सँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको कुराकानीको सम्पादित अशं –

नेपाली कांग्रेसको महाधिवेशन फागुनमा हुने सम्भाना छ र ?

१४औँ महाधिवेशन फागुनमा गर्ने भनेर निर्णय गरेको हो । त्यो निर्णय गर्ने बेला कोरोनाको महामारी थिएन । सारा मानिसहरू कोरोनाको त्रासबाट बाँचिरहेका छन् । त्यो बेलाको समयअनुसार फागुनमा महाधिवेशन हुने सुनिश्चितनै थियो । निर्णय गरेपछि यसबीचमा कोरोना भयो । लकडाउन भयो । ६–७ महिना लकडाउनको समयमा कांग्रेसको बैठकहरू बस्न सकेन । निर्णयहरू हुन सकेनन् । लकडाउन खुलेपछिको बैठकबाट क्रियाशील सदस्यको कुरालाई यथावत राखेर काम गर्न केही समय दिने निर्णय भएको छ ।

त्यो समयमा वडादेखिनै छानविन गर्ने भन्ने सबैको सहमति थियो । कोरोना साम्य नभएकोले पार्टीमा पनि समस्या भइरहेको छ । महाधिवेशनको लागि कोरोनाले रोक्दैन भन्ने कुरा पनि आएको छ । यो महामारीमा महाधिवेशनमा कसरी जाने त भन्ने कुराहरू पनि आएको छ । कोरानाकै कारण निर्वाचन र महाधिवेशनलाई पछाडि लैजान्छ भन्ने कुरा त्यति जायज नहोला । कोरानाको बीचमा महाधिवेशन र निर्वाचन कसरी गर्ने भनेर प्रक्रिया र रणनैतिक विषयमा छलफल गर्नुपर्छ । त्यो विषयमा छलफल भइरहेको छैन । हामीले क्रियाशील कहाँ वितरण गर्‍यौँ ? किन वितरण ग¥यौँ ? के प्रक्रियाले गर्‍यौँ भन्ने सानातिना कुराहरूमा पार्टीभित्र अन्तरविरोध बढ्दै गइरहेको छ ।

कांग्रेसका नेताहरू किन मिल्न नसक्नु भएको होला ?

कम्युनिस्टको सरकार भएको बेला मानिसहरू धेरै आत्तिएको अवस्था छ । कुनै पनि व्यक्ति अहिले खुसी छैनन् । तलदेखि माथिल्लो तहसम्म खुसी छैनन् । सरकारमा बस्नेहरूले लुट गर्ने प्रवृत्ति मात्रै अपनाएका छन् । व्यापक असन्तुष्टि हुँदा हुँदै कांग्रेसभित्र आगामी रणनीति बनाउनुपर्छ । कांग्रेसलाई जनताले विश्वास गरेका छन् । पार्टीमा एकताबद्ध भएर जानुपर्ने अवस्था छ । पार्टीमा अहिले महाधिवेशन मात्रै निशाना भएको अवस्था छ ।

पार्टीको नेतृत्वले समग्र देशको आर्थिक, राजनीतिक, सामाजिक अवस्था कसरी विचलित भएको छ भन्ने कुरालाई नहेरिकन खाली म कसरी पार्टीमा स्थापित हुन सक्छु अथवा म पार्टीमा कुन तहमा आउन सक्छु भन्ने त्यो प्रवृत्तिमा जान थालेपछि आन्तरिक द्वन्द्वलाई एकदमै अगाडि बढाइरहेको छ । पार्टीभित्रको द्वन्द्व विकृतिको रुपमा बढिरहेको छ । नेतृत्वले बुझ्नुपर्ने कुरा भनेको जसरी हुन्छ कांग्रेसलाई बचाएर सशक्त बनाउनुपर्छ । सशक्त पार्टीमा म स्थापित हुन्छु भन्ने भावना नेताहरूमा जागृत हुनुपर्छ ।

कांग्रेस आफूभित्र त मिलेन । त्यसो भए कांग्रेसले यो सरकारलाई सहयोग गरेको हो ?

कांग्रेसले सरकारलाई सहयोग गरेको छैन । महामारी रोकथामका सम्बन्धमा कांग्रेसले सहयोग गर्छ । गरेको पनि छ । सरकारको गलत कुरालाई कांग्रेसले समर्थन गर्दैन विरोध गर्छ । सुध्रिन बाटो देखाउँछ । सरकारले कांग्रेससहितका अन्य पार्टीहरूलाई बेवास्ता गरिहेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको रवैवा सबैलाई थाहा छ ।

ओलीजीले आफ्नै पार्टीभित्र कसैलाई पनि नटेरिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष कांग्रेसलाई उहाँले पेलेर लैजान्छु भन्ने सोँच्नुभएको छ । अहिलेको नाजुक परिस्थितिमा सरकारको क्रियाकलाप हेर्दा कांग्रेसलाई नटेरेको अवस्था हो । कांग्रेसले कम्युनिस्टलाई सहयोग गरेको छैन । सरकारको गलत क्रियाकलापमा हाम्रो विरोध सधैँ रहन्छ । कांग्रेसको विरोधका कारणनै सरकार असफल भएको छ । जनताले सरकारलाई होइन कि नेपाली कांग्रेसलाई साथ दिइरहेका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीमा पेलेर जानुभयो भन्ने आरोप छ । रामचन्द्र पौडेल समूहले ज्ञापन पत्र बुझाएको छ । विभागहरू विघटनको माग छ । यी मागहरू पूरा गर्नुपर्छ कि पर्दैन ?

उहाँहरूको माग कति बैधानिक छ ? कति अवैधानिक छ ? त्यसमा छलफल गर्न जरुरी छ । पार्टीभित्र छलफल पनि भइरहेको छ । पार्टीभित्रका माग र सुझावहरूप्रति नेतृत्व गम्भीर हुन जरुरी छ । ती मागहरूका विषयमा सभापति शेरबहादुर देउवा गम्भीर हुनुहुन्छ । गम्भीर बनेर छलफल पनि अगाडि बढाउनुभएको छ । रामचन्द्र दाईहरूका मागमा नाजायज कुराहरू पनि धेरै छैनन् । क्रियाशील सदस्यता दिनु हुँदैन भन्ने कुरा नाजायज हो । पार्टीमा दिनदिनै मानिसहरू प्रवेश गरिरहेका छन् ।

कांग्रेस कमजोर छ भन्दै गर्दा पनि दिनदिन विभिन्न राजनीतिक दल छाडेर प्रवेश गर्नेहरू बढिरहेका छन् । ती नवप्रवेशीहरूलाई पार्टीले क्रियाशील सदस्यता दिने कि नदिने ? उनीहरूलाई नयाँ सदस्यता नदिने हो भने पार्टी संगठन वृद्धि हुँदैन न नि ? कांग्रेसमा विभिन्न दलका जिम्मेवार नेताहरू प्रवेश गरिरहेका छन् । नयाँ साथीहरूलाई क्रियाशील सदस्यता दिनु हुँदैन भन्ने उहाँहरूको आवाज ठीक भएन । कतिपय कुराहरू सहमति गरेर मध्य भागमा लगेर काम गराउन सकिन्छ ।

विभागहरूमा पनि लामो समयदेखि नाम संकलन गरौँ भनिएको हो । नाम संकलन गर्ने विषयमा पनि उहाँहरूले मान्नुभएन । विभाग गठन भएको छ । विभागहरूले काम गर्न शुरु गरिसकेका छन् । विभिन्न तहमा रहेका पार्टीका साथीहरूले आफूले काम गर्न नपाउँदा अहिले विभागहरूमा काम गर्ने ठाउँ पाउनुभएको छ । विभाग किन विघठन गर्ने ? विघठन गर्नु हुँदैन । विभाग पनि समस्या होइन । उहाँहरूले महाधिवेशन निशाना मात्रै बनाउनुभयो । पार्टीको संगठनलाई सुदृढ गराउने कुरा कसैको पनि रहेन । महाधिवेशनमा असफल हुन्छौँ कि भन्ने कुरामा उहाँहरू चिन्तित हुनुहुन्छ । नेतृत्वले महाधिवेशनलाई केन्द्रित बनाएकाले पनि समस्या भएको हो ।

कांग्रेसको १४औँ महाधिवेशनबाट पहिलो पुस्ता नेतृत्वमा आउनुपर्छ कि दोस्रो पुस्ता आउनुपर्छ ?

दुबै पुस्ताको समीकरणनै नेपाली कांग्रेसको संगठन हो । पहिलो र दोस्रो भन्ने कुरा होइन । पार्टीमा मुद्धासँग मात्रै सम्बन्ध रहँदैन । पार्टीमा काम गरेको, लगनशीलता, निरन्तरता, पार्टी बुझेको मान्छेको पुस्ता आउनुपर्छ भन्ने व्यक्ति हुँ ।

१४औँ महाधिवेशनमा तपाईले कुन पदमा उम्मेदवारी दिने विचार गर्नुभएको छ ?

कुन पदमा उम्मेदवारी दिने भनेर अहिले नै विचार गरेको छैन । त्यो कुरा अहिले नै भन्ने पक्षमा म छैन । म पनि पदाधिकारीमा उम्मेदवार बनेर प्रतिस्पर्धा गर्ने सोँच बनाएको छु ।
मेरो धारणा नै फरक छ । संविधानले दिएको अधिकारअनुसार पार्टीको विधानमा पनि समाहित गर्नुपर्छ । पार्टीमा स्थापित गरेका छौँ । संविधानको प्रावधानअनुसार नै पार्टीको विधानलाई संशोधन गरिसकेका छौँ । पार्टीमा महिलाहरूलाई एकतिहाइको सुनिश्चितता गरियो ।

पार्टीको पदाधिकारीहरूमा महिलाहरू अन्त्यन्तै न्युन भएका छन् । प्रोटकलको कुरा हेर्ने हो भने हिजोभन्दा अहिले महिलाको अवस्था नाजुक देखियो । पहिला कोषाध्यक्ष महिलालाई नै जिताउने प्रचलन थियो । प्रोटकलमा पाँच जनामा एउटा महिला जिताउने हिजोको परम्परा थियो । अहिले आठ जनाको सह–महामन्त्रीमा एउटा महिला भनिएको छ । यो कुरा मैले मान्ने पनि छैन । मैले यो विषयमा संशोधन हालेको छु । पदाधिकारीहरूमा कि फ्रिकम्पिटिशनमा लड्ने वातावरण बनाऔँ । अन्यथा त्यहाँ पनि एकतिहाइ हुनुपर्छ ।

कांग्रेसको सभापति महिला बन्न सक्छन् कि सक्दैनन् ? सभापतिमा महिला नेतृहरूले उम्मेदवारी दिन्छन कि दिँदैनन् ?

महिलाले सभापतिमा उम्मेदवारी दिने भन्ने कुरा मैले सुनेको छैन । म सभापतिमा उम्मेदावर बन्दैन । कांग्रेसमा सभापति भएर पार्टी चलाउन सक्ने क्षमता भएका महिलाहरू छन् । जति पनि छन् । पार्टीमा लागेर निरन्तर लामो समयदेखि काम गरेका महिलाहरू छन् । यदाकदा कसैले सभापतिमा उम्मेदवारी दिन्छु भने पनि नेतृत्वमा आएरै काम गर्ने गरेर दाबी गर्ने महिलाहरू आएको मैले देखेको छैन ।

Published : Thursday, 2020 November 5, 8:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया