आईजीपी क्षेत्रीद्वारा हवल्दार र जवानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरूसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले अध्ययन प्रतिवेदनबाट आएका निष्कर्षहरूले आउने दिनमा मातहत कर्मचारीहरूलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको बताए ।

आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरूको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन प्रतिवेदनबाट देखिएको बताउँदै प्रहरी महानिरीक्षक क्षेत्रीले प्रतिवेदनबाट आएका निष्कर्षबाट कार्ययोजना तयार पारी त्यसलाई अवलम्बन गर्नुपर्ने बताए ।

यस सम्बन्धी विगतमा थुप्रै अनुसन्धानका कार्यहरू भएको उल्लेख गर्दै उनले अब बनाइने कार्ययोजना तथा नीतिहरूलाई कार्यान्वयनमा ल्याइने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका कार्यकारी निर्देशक मृग्रेन्द्रबहादुर कार्की र गृहमन्त्रालयका सह–सचिव थानेश्वर गौतमले अध्ययन प्रतिवेदन सन्दर्भमा आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रहरी उपरीक्षक मनोजकुमार केसीले अध्ययन प्रतिवेदन सार्वजनिकीकरण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय लगायत ७ वटै प्रदेशका विभिन्न १५ जिल्लाहरूमा उक्त सर्वेक्षण गरिएको जानकारी दिए ।

कार्यक्रममा पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स (पिजिडिपिएस) कार्यक्रम सल्लाहकार प्रा.डा. राजिवविक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरू लगायत प्रहरी हवल्दार तथा जवानहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2020 October 22, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया