बुढानिकलण्ठको चेतावनीले बालुवाटारमा खैलाबैला, कम्युनिस्ट सरकारले बल्ल देख्यो कांग्रेसको पावर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको भन्दै देशमा सर्वत्र त्रास छाएको बताएका छन् ।

सभापति देउवाले बिहीबार विज्ञप्ति जारी गरेर यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पीडा थप्ने काम गरेको बताए ।

‘नेपाल सरकारले कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ’, उनले भनेका छन् ।

‘यस निर्णयले सरकार जनताका प्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको छ’, देउवाले भने, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ सेवावाट बंन्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानूनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।’

‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो’, उनले भने, ‘सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नुपर्छ ।’

‘सरकारले जनताको हितविरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्बोच्च अदालतको पनि अपहेलना गरेको छ’, देउवाले भने, ‘यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।’

‘कोभिड–१९ नियन्त्रणको सन्दर्भमा सरकार प्रारम्भ देखिनै गैर जिम्मेवार रह्यो’, उनले भने, ‘समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परीक्षण, क्वारेन्टिन, आईसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई ईज्जतपूर्वक सुरक्षित घर फिर्तीमा उदासीन रहनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताका उदाहरण हुन् ।’

‘हामीले समयमा दिएका सुझावलाई पनि सरकारले वास्ता गरेन’, कांग्रेस सभापति देउवाले भने, ‘महामारीको भयावह अवस्था सृजना हुनुमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार जिम्मेवार छ ।’

‘देशमा कालाबजारी, महँगाई, मिसावट, कृतिम अभाव, भ्रष्टाचार र बेथिति उग्र रुपले प्रकट भएको छ’, उनले भनेका छन्, ‘आर्थिक पारदर्शीता, अनुशासन र मितव्ययिता छैन ।’

‘अनावश्यक काममा सरकारी ढुकुटी खर्च भएको छ’, उनले भने, ‘नागरिकको स्वास्थ्यबारे सरकार असंवेदनशील बनेको छ ।’

‘म नेपाल सरकार र प्रधानमन्त्रीलाई कोभिड—१९ को परिक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरि नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु’, देउवाले भनेका छन् ।

‘यस विषम परिस्थितिमा जनताको जीवननै कष्टकर भएको यथार्थ तर्फ सम्वेदनशील भई जनताको हितमा काम गर्न आग्रह गर्दछु’, सभापति देउवाले भनेका छन् ।

देउवाले कोभिड–१९ को संक्रमणका कारण धेरै नेपाली दाजुभाइ–दिदीबहिनीको मृत्यु भएको भन्दै चिन्ता समेत जनाएका छन् ।

‘म ज्यान गुमाउनु हुने सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’, उनले भने, ‘सक्रिय संक्रमितको शीघ्र स्वास्थलाभको कामना गर्दछु ।’

Published : Thursday, 2020 October 22, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया