ओलीको कम्युनिस्ट सरकार जिम्मेवारीबाट भाग्न खोज्योः तरुण दल

काठमाडौं । नेपाल तरुण दलले सरकार जनताको स्वास्थ्यको जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका बेला जनताको जीवन बचाउने बेला सरकार जिम्मेवारीबाट पन्छिन खोजेको बताए । कोरानाका बिरामीको उपचार र परीक्षण निःशुल्क नगर्ने सरकारी निर्णय खेदजनक रहेको उनले बताए ।

‘यस्तो महामारीको बेला परिक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठीक बिपरित परीक्षण, उपचार र लास ब्यबस्थापन जनता स्वयंले गर्नुपर्ने निर्णयमा पुगेको छ’, उनले भने, ‘यो निर्णय अत्यन्तै खेदजनक छ ।’

‘सरकारको यो निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश बिपरित छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘आम जनताको अभिभावकको भूमिका निर्बाह गर्नुपर्ने सरकारले यस्ता गैरकानूनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पूर्ण जनताको निःशुल्क परीक्षण र उपचार गर्नका लागि आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘अन्त्यमा फेरि पनि प्रश्न गर्न चाहान्छौँ रोग भोक र अभाबमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र ?’, अध्यक्ष बस्नेतले कम्युनिस्ट सरकारसँग प्रश्न गरेका छन् ।

सरकारको आफ्नै अकर्मण्यताका कारण आज दिनानु दिन संक्रमित र मृत्यु हुनेको संख्या बढीरहेको भन्दै अध्यक्ष बस्नेतले चिन्ता जनाएका छन् ।

‘यस्तो महामारीको बेलामा सरकारले जनता प्रति निर्बाह गर्नुपर्ने समान्यभन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ’, विज्ञप्तिमा भनिएको छ ।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोनाका बिरामीको निःशुल्क उपचार गर्न नसकिने निर्णय गरेपछि विरोध हुँदै आएको छ ।

सरकारी अस्पतालहरूले बिरामीसँग दुई लाखसम्म धरौटी लिन शुरु गरेका छन् ।

Published : Wednesday, 2020 October 21, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया