बालुवाटार र खुमलटारबीच तनाब, नेकपाभित्र खैलाबैला

काठमाडौं । कर्णाली प्रदेशको विवाद समाधानको अन्त्यतिर पुगेका बेला खुमलटारको प्रेस नोटले नयाँ मोड दिएको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा मंगलबार विज्ञप्ति जारी गरेर कर्णाली प्रदेशको विवाद समाधान गर्न ४ बुँदे सहमति भएको जनाएका थिए ।

थापाको विज्ञप्ति सञ्चारमाध्यममा नपुग्दै नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रेस नोट जारी गरेर कर्णाली प्रदेशका विषयमा कुनै सहमति नभएको जनाए । दुई वटा अलग–अलग विज्ञप्ति आएपछि नेकपाभित्र कर्णाली प्रदेशलाई लिएर ठूलो विवाद छ भन्ने सन्देश दिएको छ ।

दुबै अध्यक्ष ओली–दाहालबीच मंगलबार वार्ता भएको थियो । सो वार्तामा कर्णालीको विवाद समाधानका विषयमा कुराकानी भएको थियो । सोही कुराकानी र सम्वादका आधारमा बालुवाटारले चार बुँदे सहमति भएको भनेर प्रेस नोट जारी गरेको हुनुपर्छ ।

बालुवाटारले प्रेस नोट जारी गरेर सहमित भएको दाबी गरेको थियो । तर, खुमलटारले चार बुँदे सहमतिलाई खारेज गरिदियो ।

पछिल्लो समय खुमलटार असन्तुष्ट देखिएको छ । विशेष गरेर बालुवाटारसँग खुमलटारका धेरै असन्तुष्टिहरू देखिएका छन् ।

मंगलबारको दुई वटा प्रेस नोट आएको विषयले नेकपाभित्र विवाद छ भन्ने संकेत गरेको छ । नेताहरूले कर्णालीको विवाद समाधान गर्न नचाहेका पनि होइनन् ।

तर, विवाद मिलाउँदा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र यमलाल कँडेल पक्षलाई चित्त बुझ्ने गरी हुनु पर्ने नेताहरूको भनाइ छ । बालुवाटारको विज्ञप्ति कर्णालीको विवाद समाधान गर्न मध्यमार्गी रहेको नेकपाका एक नेताले बताए ।

हठातमा खुमलटारबाट जारी भएको प्रेस नोटले कर्णाली प्रदेशको विवाद समाधान गर्न केही नेताहरू चाहँदैनन् कि भन्न आशंका जन्माइदिएको छ ।

खुमलटार असन्तुष्ट छ भनेर बुझेका ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग कर्णालीको विवाद समाधान गर्न परामर्श समेत गरेका छन् ।

Published : Wednesday, 2020 October 21, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया