जसपाद्वारा कोरोना संक्रमितको निःशुल्क उपचारको माग, भत्ता फिर्ता गर्ने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कोरोना संक्रमितहरूको निःशुल्क उपचार र परीक्षणको माग गरेको छ ।

राजधानीमा सोमबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले कोरोना संक्रमितको निःशुल्क उपचारको माग गरेको जसपाका नेता मनीष सुमनले जानकारी दिए ।

उनले कोरोना संक्रमितहरूको परीक्षण पनि निःशुल्क गर्न माग गर्ने निर्णय भएको जानकारी दिए ।

कोरोना संक्रमितको निःशुल्क उपचार तथा परीक्षण नगर्ने सरकारको निर्णय संवैधानिक मौलिक हक विपरीत रहेको जसपाले ठहर गरेको छ ।

यस्ता अमानवीय निर्णयको निन्दा एवम् भर्त्सना गरेको सुमनले बताए ।

जसपाले दशैँ खर्चका नाममा प्रतिनिधि सभाका सांसद र प्रदेश सांसदहरूलाई दिइएको भत्ता फिर्ता गर्ने निर्णय पनि गरेको छ । सांसदहरूलाई दिइएको दशैँ भत्ता वापतको रकम कोरोना उपचार र परीक्षणमा लगाउने गरी सरकारलाई फिर्ता गर्ने निर्णय भएको नेता सुमनले बताए ।

बैठकमा संयोजक महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतोलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Monday, 2020 October 19, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया