नवलपरासीमा निर्वाचित वडाध्यक्षहरू नै कांग्रेसमा प्रवेश

नवलपरासी । नवलपरासी जिल्लामा दुई जना निर्वाचित वडाध्यक्षहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार आयोजित पार्टी कार्यक्रममा सरावल गाउँपालिकाका दुई वडाध्यक्षसहित ४० जनाले कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका सांसद देवेन्द्रराज कँडेलले पार्टी प्रवेश गराएका छन् ।

सरावल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष भेषनारायण चौधरी र वडा नं. २ का वडाध्यक्ष शम्भु चौधरी कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूसँगै ४० जना स्थानीय कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको नवलपरासी कांग्रेसले जनाएको छ ।

कांग्रेस सरावल गाउँपालिका वडा नं. १ र २ को संयुक्त आयोजनामा आयोजित विजया दशमी, दीपावली, रमजान तथा छठ पर्व २०७७ को पावन उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम राखिएको थियो ।

कार्यक्रमको सभापतित्व रुद्रनाथ रायले गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नवलपरासीका जिल्ला सभापति विष्णु पौडेल, जिल्ला सह–सचिव शिवशंकर राय, संगठन विभाग सदस्य मोहन शर्मा, सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि उत्तमा राय, गाउँपलिकाका सभापति विनोद पाण्डेय, महाधिवेशन प्रतिनिधि सुखाडीप्रसाद चौधरी लगायतको पनि उपस्थिति रहेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले कांग्रेसको विचार र सिद्धान्तलाई अंगालेर पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई सधै सम्मान गर्ने बताए ।

उनले कांग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघि बड्न सुझाव दिए ।

नव प्रवेशीहरूले आफूहरूले आस्था राखेको पार्टीले जनताको नेतृत्व गर्न नसकेकाले अफूहरू कांग्रेसमा प्रवेश गरेको जनाएका थिए ।

Published : Saturday, 2020 October 17, 5:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया