यस्तो थियो कर्णालीको भित्री कथा, दाहालले बल्ल चालपाए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद प्रदेशहरूमा सरेको छ ।

कार्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन दर्ता गरिएको अविश्वासको प्रस्ताव हठातमा आएको होइन । यसका भित्री कुराहरू प्रसस्त छन् । शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने व्यक्ति केपी ओलीका खास मान्छे हुन् । कर्णाली प्रदेश सभामा नेकपाका प्रमुख सचेतक रहेका गुलाबजंग शाहले ओलीलाई सोधेर अविश्वासको प्रस्ताव अगाडि बढाएको स्रोतको भनाइ छ । होइन भने ओलीलाई नसोधेर शाहले यति ठूलो हिम्मत गर्न सक्दैनन् ।

नेकपाभित्रको केन्द्रको विवादलाई ओलीले प्रदेशमा भित्र्याइदिएका छन् । ओलीले केन्द्रमा सरकार चलाउन समस्या गर्‍यौं भने प्रदेश सरकारहरू पनि सुरक्षित छैनन् भन्ने सन्देश दिएका छन् ।

कर्णाली प्रदेशको अविश्वासको प्रस्ताव विशेष गरेर दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी थियो । दाहालले ओलीलाई सरकार सञ्चालनमा असहयोग गर्दै आएका छन् । पार्टी सञ्चालनमा पनि दाहालले ओलीलाई असहयोग नै गर्दै आएका छन् ।

दाहाललाई झस्काउन नै ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीमाथि धावा बोल्न लगाएका हुन् । मुख्यमन्त्री शाही नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहालका अत्यन्तै निकटका मानिन्छन् । दाहालकै जोडबलमा कर्णालीमा माओवादीहरू अल्पमतमा हुँदा पनि शाहीलाई मुख्यमन्त्री बनाइएको थियो । शाहीलाई अल्पमत हुँदा पनि मुख्यमन्त्री बनाएको भनेर त्यस बेला नै एमालेका सांसदहरूले हँगामा मच्चाएका थिए ।

ओली राजनीतिका कुशल खेलाडी मानिन्छन् । ओलीले आफ्नो आलोचना रोक्न र मत्थर बनाउन पनि कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीमाथि आक्रमण गराएका हुन सक्छन् । कोरोनाका कारण सरकारको आलोचना भइरहेको छ । त्यो आलोचनालाई मत्थर बनाउन पनि ओलीको यो रणनीति हुन सक्छ ।

साथै ओलीले दाहाललाई सरकारलाई सहयोग गर्न मानसिक दवाव दिएको पनि हुन सक्छ । होइन भने मुख्यमन्त्रीहरूलाई फाल्न पनि सकिन्छ भन्ने सन्देश ओलीले दिएका छन् । कर्णाली प्रदेशको विवाद त्यहाँको मात्रै समस्या होइन । केन्द्रबाट ओलीले सिर्जना गरेको विवाद भएको पूर्वमाओवादीहरूले स्पष्ट रुपमा बुझेको छ ।

शाहीलाई अहिले हटाएर अर्को मुख्यमन्त्री बनाउने सम्भावना पनि छैन । यदि शाहीलाई हटाएर अर्को मुख्यमन्त्री बनाउने हो भने माओवादीहरूले पार्टी फुटाउनेछन् । उनीहरू नेकपामा बस्ने छैनन् ।

माओवादीले दुई वटा मुख्यमन्त्री पाएको थियो । अर्को मुख्यमन्त्री सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्ट रहेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले काम गर्न नसकेको सहि हो । सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पनि काम गर्न सकेका छैनन् । काम गर्न नसक्नेहरूमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि छन् । राईलाई राष्ट्रपति विद्यादेवी भण्डारीको आशीर्वाद छ । त्यही कारण राई बलियो अवस्थामा छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पटक पटक हटाउने प्रयास भइसकेका छन् । पौडेलविरुद्ध हस्ताक्षरहरू पनि भएका छन् । तर, ओलीले पौडेललाई तत्काल हटाउन चाहेका छैनन् । सोही कारण पौडेलेको मुख्यमन्त्री पद बचेको छ ।

Published : Thursday, 2020 October 15, 8:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया