पूर्वएमालेभित्रै नेपाल समूहले धोका दियो, शाहीले दिए तीन मन्त्री

काठमाडौं । कर्णाली प्रदेशमा वरिष्ठ नेता माधवकुमार नेपालले धोका दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी बचेको छ ।

पूर्वएमालेबाटै पूर्वएमालेलाई धोका भएको छ । शाहीलाई साथ दिएपछि वरिष्ठ नेता नेपाल समूहले तीन मन्त्री र सचेतक पद पाएको छ ।

शाहीले नेपाल समूहका कुर्मराज शाहीलाई सचेतकमा नियुक्ति गरेका छन् । नेपाल समूहका तीन जनालाई मन्त्री बनाउनेछन् । चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापालाई नेपाल समूहबाट मन्त्री बनाइने सहमति भएको स्रोतले जनाएको छ ।

नेपाल निकट मानिने यमलाल कँडेलले प्रधानमन्त्री खड्गप्रसाद ओली निकट मानिने गुलावजंग शाहलाई धोका दिएका छन् । नेपाल समूहका सात जना सांसदले अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएको जनाएका छन् ।

पूर्वएमालेबाट १८ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । संसदीय दलमा शाही अल्पमतमा थिए । नेपाल समूहका कारण शाही बहुमतमा पुगेका छन् ।

ओली र सुवासचन्द्र नेम्बाङले पनि पूर्वएमाले निकटका कर्णाली प्रदेशका सांसद र नेताहरूलाई अविश्वासको प्रस्ताव अगाडि नबढाउन दवाव दिएका थिए ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले सोमबार ओलीलाई भेटेर कर्णाली प्रदेशको अविश्वासको प्रस्ताव फिर्ता लिन चेतावनी दिएका थिए । अविश्वासको प्रस्ताव फिर्ता नलिए गम्भीर परिणाम आउने दाहालले बताएका थिए ।

Published : Tuesday, 2020 October 13, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया