वीपीले युवा तरुणलाई सिकाएको अनुशासन

जन्मजय तिमिल्सिना, सदस्य, नेपाली कांग्रेस संगठन विभाग

वीपी कोइरालाका अनुसार लोकतन्त्रमा विश्वास गर्ने युवा, तरुणहरूमा चार लक्षण हुनु आवश्यक छ । पहिलो संगठनमा अनुशासन अपरिहार्य हुन्छ । अनुशासनविनाको भीडले विद्रोह गर्न सक्दैन । अराजकताको संवाहकमात्रै हुन्छ । युवाका लागि पहिलो तत्व वा लक्षण अनुशासन नै हो ।

नेपालमा हामी युवाहरूले नयाँ पुस्ताको बहस चलाउँदा हामी नयाँ पुस्ता आफू कति अनुशासित छ वा छैन ? यो विषय गम्भीर हुनुपर्ने हो । वीपीले युवाको अर्को लक्षणमा उल्लेख गर्नुभएको छ । साथीहरूबीच वफादारी । अर्थात् एकअर्कामा विश्वास र निष्ठा । मित्रहरूमा विश्वास भएन भने कुनै पनि काम सहि हुँदैन ।

हामीहरू बीच अविश्वासकै कारण झगडा, अन्तर्घात, खुट्टा तानातान, गुटउपगुट, असहयोग हुन्छ । एकअर्काले यहीबाट प्रतिशोध, नियन्त्रण, व्यवधान र अवरोधको शृंखला बढाउने काम गर्दछ । के आजका हामीहरूमा एकअर्काप्रति विश्वास छ ? निष्ठा छ ? को हो त नेता र नायक ? उसका विचार के हुन् ? के उसले सिंगो युवा पंक्तिलाई नेतृत्व दिनसक्छ ? त्यस अनुकूलको आचरण, व्यवहार देखाउन सक्छ ? के उसको सामाजिक छविमा कुनै दाग लागेको छैन ? सबैलाई नेतृत्व दिने सामथ्र्य र योग्यता राख्छ त ? कि भावनामा बहेर केही व्यक्तिको झुण्ड बोकेर नेतृत्वको अहंकार पालेर मात्र पूरा हुन्छ ?

यो पक्षलाई विचार गर्नुपर्ने हुन्छ । वीपीले भन्नुभएको अर्को गुण र लक्षण हो । आदर्शप्रति निष्ठा । आदर्शलाई निजी स्वार्थको भ¥याङ बनाउन खोज्नु र सहि रूपले निष्ठा प्रकट गर्नु फरक कुरा हुन् । अहिले आदर्शप्रतिको निष्ठाभन्दा व्यक्तिगत स्वार्थ पूरा गर्ने बाटो बनाइँदै छ । आदर्श कुनै स्वकल्पना होइन । यो आचरणसँग सम्बन्धित हुन्छ । आदर्शप्रतिको निष्ठा आचरण र व्यवहारबाट प्रमाणित हुनुपर्छ ।

हामी युवा तरुणको अर्को लक्षण भन्ने शारीरिक दुःख खप्ने क्षमता हो । वीपीले यो गुण क्रान्तिकालका लागि तय गर्नुभएको भए पनि सदाकालका लागि आवश्यक हुन जरुरी छ । आजका कति हामीहरूमा दुःख झेल्ने क्षमता छ ? खास गरी राजनीतिमा लागेका हामी युवाहरूको सोँच कस्तो छ ? क्षमता कस्तो छ ? आज राजनीतिको कुनै संगठनमा लाग्नासाथ कताबाट फाइदस हुन्छ, के कर्म अपकर्म गर्दा आफ्नो गुजारा चल्छ वा समृद्धि मिल्न सक्छ, कसरी शक्तिको निकट रहन सकिन्छ ? अधिकांश हामी युवाहरू अहिले त्यही सोंचमा देखिन्छौं । त्यसैले हामीहरूमा सोंच, निष्ठा, नैतिकता, इमानदारिता, एकआपसमा भरोसा र जिम्मेवार बन्न जरुरी छ ।

Published : Monday, 2020 October 12, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया