आत्तिदै बालुवाटार छिरे दाहाल, मुहारमा खुसी आएन

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आत्तिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान ओलीसँग दाहालले भेट गरेका हुन् । भेटमा दाहालले कर्णाली प्रदेशमा पूर्वएमालेका नेता र प्रदेश सांसदहरूबाट दर्ता भएको अविश्वासको प्रस्तावमाथि गम्भीर असहमति जनाएको उच्च स्रोतले जनाएको छ ।

ओलीले सो विषयमा आफूलाई कुनै जानकारी नरहेको र बुझ्ने आश्वासन दाहाललाई दिएका छन् ।

ओलीको जवाफले मात्रै दाहाल सन्तुष्ट हुन सकेका छैनन् । ओलीसँग दाहालले पूर्वसहमतिअनुसार नै कर्णाली प्रदेशमा शाहीलाई निरन्तरता दिनुपर्ने अडान राखेका छन् ।

पूर्वएमाले सांसदहरूले पूर्वमाओवादीका मुख्यमन्त्री शाहीलाई काम गर्न नसकेको आरोप लगाएर आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावले सबैभन्दा धेरै तनाब दाहाललाई भएको छ ।

शाहीलाई मुख्यमन्त्री दाहालले नै बनाएका हुन् । दाहालका शाही विश्वासपात्र मानिन्छन् । तर, शाहीले कर्णाली प्रदेशमा कुनै पनि काम गर्न सकेका छैनन् ।

यसैबीच, ओली र दाहालबीच नयाँ मन्त्रीहरू बनाउने विषयमा कुराकानी भएको छ । तर, सहमति भएको छ वा छैन केही भनिएको छैन ।

Published : Monday, 2020 October 12, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया