सिरहामा बलात्कार काण्ड मिलाउन खोज्ने ‘ग्याङ’ पक्राउ

काठमाडौं । सिरहा जिल्लामा बलात्कारको घटनालाई गाउँमा मिलाउन षड्यन्त्र गर्ने समूह पक्राउ परेको छ ।

विष्णुपुर गाउँपालिका–१ मा सोमबार भएको बलात्कार घटनालाई पञ्चायत गरेर मिलाउने प्रयास गरिएको थियो । पञ्चसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

सोमबार साँझ ५ बजेको समयमा वडा नं. १ स्थित सत्रुधन साहको घरमा २० वर्षीय मुकेशकुमार साहले सोही स्थानकी १६ वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।

घाइते भएकी पीडितलाई आफन्तको सहयोगमा स्थानीय क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होममा लगिएको थियो ।

अस्पतालबाट उनी शुक्रबार घर फर्कँदा गाउँका पञ्चहरूले यस घटनालाई गाउँमै मिलाउनेगरी कागज तयार पारेका थिए ।

पक्राउ पर्नेमा २० वर्षीय मुकेशकुमार साह तथा पञ्चहरू ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय रामउदगार यादव, ६१ वर्षीय जगवीर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादव रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले सूचना पाएपछि यादवको घरमा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन गरिएको कागज बरामद भएको छ ।

पक्राउ परेकाको संलग्नतामा पीडकले पीडितलाई ५ लाख दिनेगरी बनाएको तमसुक कागज बरामद गरिएको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2020 October 4, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया