कांग्रेसद्वारा विशेष अधिवेशनको माग, ओली सरकारविरुद्ध सडक र सदनबाट आन्दोलनको घोषणा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसल खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन गर्ने घोषणा गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने प्रस्ताव असोज १९ गतेको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको हो ।

सह–महामन्त्री डा.प्रकाश शरण महतले सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको, भ्रष्टाचार व्याप्त भएको, जनता भोक मर्नुपरेको लगायतका विषयमा भन्दै सदन र सडक आन्दोलन गर्ने निष्कर्षमा पुगेको बताए ।

पदाधिकारीको बैठकले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि सहमति गरेको छ । कांग्रेस संसदीय दलले संसदको विशेष अधिवेशनको माग गर्नेछ ।

‘यो सरकारले कोरोना नियन्त्रण, उपचार तथा जनताको जनजीविकाको विषयमा कुनै ध्यान दिएन’, उनले भने, ‘सरकारलाई दवाव दिन सडक र सदन दुबै माध्यमबाट अगाडि बढ्नुपर्ने अनिर्वाय भइसक्यो ।’

डा.महतले सरकारको भ्रष्टाचारलगायतका विषयमा केन्द्रदेखि जिल्लासम्म आन्दोलनका कार्यक्रमहरू केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिने जानकारी दिए ।

‘कोरोना महामारीका बेला सरकारले काम गरोस् भनेर कांग्रेसले सधैँ सहयोग गर्‍यो’, उनले भने, ‘सरकारले जनताको जीवन बचाउनेभन्दा पनि सत्ताको खेलामा लाग्यो । जनता भोकै मरिरहेका छन् । कोरोनाले दिनदिनै सयौँको संख्यामा संक्रमित भइरहेका छन् । अब कांग्रेस चुप लागेर बस्दैन । सडक र सदनबाट सरकारलाई दवाव सिर्जना गर्छ ।’

पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल समूहले बुझाएको ज्ञापन पत्रका विषयमा पनि छलफल भएको छ । सो ज्ञापन पत्रमा उठेका विषयलाई असोज १९ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा उचित सम्बोधन गरिने सह–महामन्त्री डा.महतले बताए ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिमा पेश गर्ने महाधिवेशनलगायतका एजेण्डाका विषयमा छलफल गरेको छ ।

Published : Wednesday, 2020 September 30, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया