विवरण नआउँदै चीनको पक्षमा देखियो कम्युनिस्ट सरकार, कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर स्थलगत अध्ययनको विवरण आउनु अगाडि नै कम्युनिस्ट सरकारका प्रवक्ताले चीनबाट सीमा मिचिएको छैन भनेर दिएको अभिव्यक्तिको विरोध गरेका हुन् ।

‘सरकारको जिल्ला स्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन’, विज्ञप्तिमा भनिएको छ ।

‘अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्ष पछि सीमा मिचिएको हो–होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का राखेन’, प्रवक्ता शर्माले भनेका छन् ।

‘नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकताबारे वस्तुगत अध्ययनकै क्रममा हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने हाम्रो बुझाई छ’, कांग्रेसले भनेको छ ।

‘बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किए पश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउँदछौं’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ ।’

कम्युनिस्ट सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपालको सिमाना नमिचेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको सबैले आलोचना गरिरहेका छन् ।

Published : Thursday, 2020 September 24, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया