नेविसंघसामु झुक्यो कीर्तिपुर प्रहरी, पक्राउ परेका नेता कार्यकर्ता रिहा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरू रिहा भएका छन्।

त्रिविमा नेविसंघले मंगलबार गरेको प्रदर्शनमा प्रहरीले नेविसंघका नेता तथा कार्यकर्ताहरूलाई बेलुका छाडिदिएको हो।

त्रिविमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता भर्ती गरेको भन्दै नेविसंघले निरन्तर प्रदर्शन गर्दै आएको छ।

नेविसंघले छ महिना हुँदासमेत पठनपाठन र स्थगित परीक्षाबारे निकास ननिकालेको तथा नेविसंघ कार्यकर्तालाई झूटा मुद्दा लगाएको विरोधमा प्रदर्शन गर्दै आएको छ। मंगलबार विरोधमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो।

नेविसंघ त्रिवि समितिले उपकुलपति कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शन गरेको थियो।

प्रदर्शनमा सहभागी रहेका त्रिवि नेविसंघ समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा, रूपेश शाह लगायतलाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखिएको थियो।

नेविसंघले पक्राउ परेका नेविसंघका नेता तथा कार्यकर्ताहरूलाई छाड्न प्रहरीलाई चेतावनी दिएको थियो। नेविसंघको चेतावनीपछि प्रहरीले सबैलाई छाडिदिएको थियो।

Published : Tuesday, 2020 September 22, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया