भारतद्वारा सहयोग गरिएका आयोजना वेबसाइट हेर्न सकिने

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरूबारे तयार पारिएको डेडिकेटेड वेबसाइटको शुरुवात गरेका छन्।

मंगलबार संयुक्त रुपमा भर्चुअल समारोहमार्फत भारत सरकारको सहयोगमा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरूअन्तर्गत शिक्षा परियोजनासँग सम्बन्धित सबै जानकारीका लागि उक्त वेबसाइट अंग्रेजी र नेपाली दुवै संस्करणमा उपलब्ध हुनेछ।

www.goicbrinepal.com मा गएर परियोजना सम्बन्धी जानकारी लिन सकिनेछ।
वेबसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको विज्ञप्तिमा उल्लेख छ। वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुका साथै परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनि हो।

आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथा प्रकोप न्युनीकरण जस्ता क्षेत्रहरूमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान मानिन्छ।

शिक्षा क्षेत्रका परियोजनाहरूमा यी संस्थानहरूको भूमिकापश्चात केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीलाई भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण प्रयास अन्तर्गत स्वास्थ्य क्षेत्र परियोजनाहरूका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा पनि नियुक्त गरिएको छ।

स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीको बीच हालै एउटा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन्।

विशेष गरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५०,००० घरहरूमध्ये ४६,००० घरहरु निर्माण भइसकेको अवस्था छ। ७० वटा विद्यालयहरू, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरू र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरूसहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरू पुनर्निर्माण, रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन्।

भारत सरकार भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरू लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न प्रतिबद्घ रहेको विज्ञप्तिमा उल्लेख छ।

Published : Tuesday, 2020 September 22, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया