शैक्षिक क्षेत्रमा प्रहरीको परेड बन्द गर्न नेविसंघको चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक रहेको जनाएको छ।

सोमबार नेविसंघ अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति जारी गरेर कम्युनिस्ट सरकारसँग शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न आग्रह गरे।

‘विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरून्त बन्द गरोस्।’

‘हैन भने सरकारले गराएको प्रहरी हस्तक्षेप र उपकुलपतिले गराएको प्रहरी संरक्षित गुण्डागर्दीविरूद्ध निर्णायक आन्दोलन गर्न बाध्य हुनेछौं’, अध्यक्ष ढुंगानाले भनेका छन्।

त्रिविमा उपकुलपतिले नेविसंघ कार्यकर्ता र आफूसँग असहमत प्राध्यापकहरूलाई झुठा मुद्दा लगाएर दुःख दिएको नेविसंघको आरोप छ।

‘त्रिविमा प्रहरी उपस्थित गराई विद्यार्थी र प्राध्यापकहरूलाई आतंकित पार्ने कार्यको भर्त्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय शैक्षिक तपोभूमि हो। प्रहरीको परेड खेलाउने स्थल हैन।’

नेविसंघले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिए पनि ती माग लत्याउने काम भइरहेको र त्रिविले वार्तासमेत नगरेको नेविसंघको आरोप छ।

वार्ता र संवादबाट त्रिविका सबै समस्याका समाधान खोज्न पनि नेविसंघको माग छ।

Published : Monday, 2020 September 21, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया