फिफा वरीयताको शीर्ष स्थानमा बेल्जियम, नेपाल यथावत

लण्डन । फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले जारी गरेको वरीयताको शीर्ष १० भित्र २ मात्रै उलटफेर भएको छ ।

बिहीबार सार्वजनिक भएको वरीयतामा पोर्चुगल एक स्थान माथि पाँचौ स्थानमा पुगेको छ ।

स्पेन एक स्थान माथि सातौंमा उक्लिएको छ । वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा ब्राजिल र चौंथोमा इङ्गल्याण्ड रहेका छन् ।

उरुग्वे एक स्थान चिप्लिएर छैटौंमा पुगेको छ । क्रोएशिया एक स्थान तल झरेर आठौंमा पुगेको छ । अर्जेन्टिना नवौं र कोलम्बिया दशौं स्थानमा यथावत छन् ।

फिफाको विश्व फुटबल वरियतामा नेपालको स्थान घटबढ भएको छैन । नेपाल १ सय ७०औं स्थानमा रहेको छ ।

दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । एक स्थान घटेको भारत १ सय ९औं र माल्दिभ्स १ सय ५५ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् ।

भुटान १ सय ८९औं स्थानमा छ । बंगलादेश १ सय ८७औं, पाकिस्तान २००औं र श्रीलंका २ सय ६औं स्थानमा छन् ।

कोरोना भाइरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहँदा कुनै प्रतियोगिता खेल्न नपाएको नेपालको वरियता यथावत रहेको हो ।

अन्य मुलुकको अवस्था पनि खासै भिन्न छैन । विश्व फुटबलको वरियतामा कोरोनाको प्रभाव परेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नहुँदा वरीयताका शीर्ष चार स्थान यथावत रहेको हो ।

Published : Thursday, 2020 September 17, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया