साढे चार क्वन्टिल प्याजसहित तस्कर पक्राउ

बारा । बारा जिल्लामा प्रहरीले कालोबजारीमा बिक्री हुँदै गरेको प्याजसहित एक जना व्यापारी पक्राउ गरेको छ ।

विगत १–२ दिनदेखि प्याजको कृतिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री वितरण गरी कालोबजारी भइरहेको स्थानमा बारा प्रहरीले छापामारेर व्यपारी र प्याज नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले कलैया उपमहानगरपालिका–१ स्थित खुशी स्टोरमा ग्राहक बनी प्याज खरिद गर्दा पसले नागेश्वरप्रसाद साहको छोरा चन्दन साहले प्रतिकिलो रू.४३ मा खरिद गरेको प्याज प्रतिकिलो रू.८०मा बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो ।

स्टोरमा लुकाई राखेको प्रतिबोरा १९ किलो भएको १४ बोरा र प्रतिबोरा ४८ किलो भएको ४ बोरा गरी जम्मा ४५८ किलो प्याज बरामद गरी कालोबजारी गर्ने चन्दन साहलाई पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअनुसार आवश्यक कारवाही शुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी टोलीले जिल्ला बाराको कलैया उपमहानागरपालिका–१० स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको ४५ हजार बराबरको बिभिन्न किसिमका कस्मेटिक सामान बरामद गरेको छ।

प्रहरीले भदौ महिनासम्म किराना सामग्री, मिनी ट्रक, मोटसाइकल तथा चौपाया समेत गरी रू.९० लाख ६१ हजार २ सय ७९ बराबरको भन्सार छलीका मालसामान भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको जनाएको छ ।

Published : Thursday, 2020 September 17, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया