कम्युनिस्ट सरकारद्वारा भाडा ५० प्रतिशत वृद्धि, असोज १ देखि के–के खुल्दै छ ?

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले सार्वजनिक यातायातको भाडा दोब्बर वृद्धि गरेको छ ।

भाडा ५० प्रतिशत वृद्धि गरेर सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिएका छन् ।

भाडाका सार्वजनिक सवारी साधन चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ ।

यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ । एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ ।

यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्नेछ । ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ ।

यससम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।

सरकारले असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरू खोल्न दिने निर्णय पनि गरेको छ ।

मन्त्री ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरू खोल्न पाइने निर्णय भएको जानकारी दिएको बताए ।

यी व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना गर्नुपर्नेछ ।

ग्राहकले भौतिक दूरी कायम गर्न सक्नेगरी होटल रेष्टुरेन्टमा भौतिक संरचना व्यवस्थापन गर्नुपर्नेछ ।

सुरक्षाका उपाय अवलम्वन भए नभएकोबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमन गर्नेछ ।

चैत ११ गते लकडाउन गरिएपछि सबै होटल तथा रेष्टुरेन्ट बन्द रहँदै आएका थिए ।

बीचमा साउन १५ गतेदेखि यस्ता व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएपछि विभिन्न जिल्ला प्रशासनले निषेधाज्ञा लागू गरेपछि पुनः बन्द गर्न बाध्य पारिएको थियो ।

जिमखाना, सिनेमा घर, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने ज्ञवालीले बताएका छन् ।

Published : Tuesday, 2020 September 15, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया