कोरोनाका बेला भ्रष्टहरू बालुवाटारतिर सक्रिय

सम्पादकीय

कोरोनाले झण्डै छ महिनादेखि कोरोना महामारीले मुलुक आक्रान्त छ । नेपालमात्रै होइन विश्वनै कोरोना महामारीबाट समस्यामा छ । यही कोरोनालाई देखाएर केही अवसरवादीहरूले मौकाको फाइदा उठाइरहेको छ । अझ नेपालमा कोरोनाकै कारण भ्रष्टाचार गरेर कमाइ खाने समूह ठूलो छ ।

नेपाल रेल्वेको ठेक्का होस् वा स्वास्थ्य सामग्री खरिद प्रकरण होस् । सबैमा भ्रष्टाचारहरूको गन्ध बाहिर आएको छ । मल खरिद प्रकरणमा पनि त्यस्तै भएको छ । यी त केही उदाहरणहरू मात्रै हो । राज्यका नियमन निकायलाई थाहा छ । राजनीतिक दवावका कारण यी भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही हुन सकिरहेको छन ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणका बेला ७० करोड कमिशन काण्डमा मुछिएका गोकुल बास्कोटालाई उन्मुक्ति दिन खोजिएको छ । बास्कोटाविरुद्ध यति ठूलो प्रमाण अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा छ । तैपनि बास्कोटालाई उन्मुक्ति दिन खोजेको भनेर बाहिर समाचार आइरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा बसेर भ्रष्टाचारीको मुख पनि हेर्दैन भन्दै आएका छन् । तर, ओली ती भ्रष्टहरूको घेराबन्दीमा छन् । कुनै विषयमा भ्रष्टाचारको कुरा उठेर कारबाहीको माग हुँदा ओली ढाल बनेर उत्रिन्छन् । यति काण्ड, बालुवाटार जग्गा काण्ड, वाइडबडी काण्ड, मल काण्ड, स्वास्थ्य सामग्री खरिद काण्ड, कृषियोग्य जमीनको कित्ता काट, ओम्नी समूह, रेल काण्ड सबैको ओलीले बचाउ गरे ।

ओलीले छानविन गर्न आदेश दिनुका साटो किन संरक्षण गर्नछन् ? भनेर प्रश्नहरू उठ्दै आएका छन् । प्रधानमन्त्री ओलीमाथि नै धेरैले औँला उठाइरहेका छन् । कमिशनको भाग बालुवाटारसम्म पुग्छ वा प्रधानमन्त्रीलाई गुमराहमा राखिएको छ ? हुन त प्रधानमन्त्रीलाई यी विषय थाहा छैन भन्न मिल्दैन । किन भने ओली अध्ययन गर्ने व्यक्ति पनि हुन् । उनलाई सबै कुरा मिडियाबाट जानकारी हुने गरेको छ ।

तैपनि ओली मौन छन् । बालुवाटारको वरिपरि भ्रष्ट, बिचौलियालगायतको समूह घुमिरहेको छ । बालुवाटारकै संरक्षणमा यस्ता व्यक्ति वा समूहले राज्यलाई नोक्सानी पुर्‍याउने गरेको आरोप र चर्चा छ । त्यसैले ओलीले आँखा चिम्म गरेर भ्रष्टहरूलाई बालुवाटारको ढोका बन्द गर्नुपर्छ । उनीहरूलाई कारबाही गर्न दिनुपर्छ ।

Published : Thursday, 2020 September 10, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया