निषेधाज्ञामा सुतेर बसेको कम्युनिस्ट सरकार

सम्पादकीय

कोरोना महामारीले जनता आक्रान्त छन् । काठमाडौं उपत्यका लगातार दुई हप्ता निषेधाज्ञा भयो । यो अवधीमा सरकारले कोरोना नियन्त्रणमा गर्नुपर्ने तयारी गर्न सकेन । निषेधाज्ञाका बेला कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिएकै छ ।

रोकथाम र नियन्त्रण भएको अनुभूति जनताले गर्न सकेका छैनन् । तर, सरकारका मन्त्रीहरूले ठूला गफहरू दिइरहेका छन् । काठमाडौं उपत्यकाभित्र नियन्त्रण हुनुपर्ने थियो । तर, निषेधाज्ञाका बेलो झन् बढेर त्रास फैलिएको छ ।

काठमाडौं उपत्यका बाहिर पनि कोरोनाभाइरसको संक्रमण मत्थर हुने स्थिति देखिएको छैन । विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सर्लाही जस्ता ठाउँहरूमा कोरोनाले आफूलाई फैलाइरहेको छ । जनतालाई कसरी कोरोनाबाट बचाउन भनेर सरकारले गर्नुपर्ने तयारी दुई हप्ताको निषेधाज्ञाका बेला पनि गरेन ।

आइसोलेसनहरू बनाउने, अस्पतालका बेड वृद्धि गर्ने, भेन्टिलेटर र आसीयूको संख्या वृद्धि गर्नुपर्ने थियो । तर, सरकारले ती तयारीहरू गर्न नसकेको भनेर आलोचना भइरहेको छ । काठमाडौं उपत्यकामा आइसोलेसन सेन्टरहरू छैनन् । उपत्यका बाहिर पनि त्यही अवस्था छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेसन सेन्टर बनाउने भनेका थिए । तर, उनी आफू नै कोरोना संक्रमित भएर उपचार गराइरहेका छन् । सर्वसाधारण जनताको अवस्था झन् पीडामय भएको छ ।

स्वास्थ्य सामग्रीहरूमा घोटाला भएको भनेर अहिले पनि आलोचना हुँदै आएको छ । स्वास्थ्यकर्मी र चिकित्सकहरूले पाउनुपर्ने सुविधाहरू पाएका छैनन् । सरकारले जोखिममा काम गर्ने चिकित्सक, स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरूलाई दिने भनेको सेवासुविधा दिनुपर्छ । उनीहरूको मनोबल उच्च बनाएर कोरोना रोकथाम गर्नुपर्छ ।

पुस महिनासम्म कोरोनाविरुद्धको भ्याक्सिन आउने भनिएको छ । त्यो भ्याक्सिन आउँदासम्म कोरोनालाई फैलिनबाट रोक्नुपर्छ । सरकारले यसका लागि उचित व्यवस्था गर्नुपर्छ । साथै देशको अर्थतन्त्रलाई उकास्नुपर्ने पनि छ । सरकारले अति विपन्न परिवार र मजदुरहरूलाई खानपानको व्यवस्था गर्नुपर्छ । होइन भने दिनभरि मजदुरी गरेर साँझ बिहान गुजारा गर्ने वर्ग भोकै मर्नुपर्नेछ । त्यो अवस्था आउन दिनु हुँदैन ।

काठमाडौं उपत्यकासहति देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाका बेला अति विपन्न परिवारहरूलाई खानपानको व्यवस्थामा सरकारले ध्यान दिएन । स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिएन । उनीहरूको अभिभावक बन्न नसकेका जनप्रतिनिधिहरूले कोरोनाबाट जनतालाई कसरी बचाउने हुन् प्रश्न उठेको छ । सोही कारण सरकारले कोरोना नियन्त्रणमा ध्यान दिनुपर्छ ।

Published : Thursday, 2020 September 3, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया