नेकपा र कांग्रेस सध्रिने कहिले ?

सम्पादकीय

मुलुक कोभिड–१९ बाट ग्रस्त बनेको छ । संक्रमण रोक्नका लागि जसरी काम गर्नुपर्ने थियो ।

सरकारले गर्न सकिरहेको छैन । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा निषेधाज्ञा लागू गरिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा दोस्रो हप्तामा उक्लिएको छ । यस्ता हप्ताहरू अझै कति थपिने हुन् भन्ने अवस्था छैन ।

कोभिड–१९ नियन्त्रणका लागि कांग्रेसले नेकपाको सरकारलाई सबै प्रकारले सहयोग गरेको छ । सरकारले कोभिड–१९ नियन्त्रण गर्नेभन्दा पनि यसको संक्रमणलाई देखाएर पार्टीभित्रको विवाद समाधान गर्नेतिर लागेको छ । प्रधानमन्त्री केपी ओलीले मुलुकको समस्या समाधान गर्नेभन्दा पनि पार्टीभित्रको विवाद समाधान गर्नेतिर आफूलाई केन्द्रित बनाएका छन् ।

कहिले राममन्दिरको चर्चा र कहिले ठोरीका जनप्रतिनिधिहरूलाई बोलाएर रामको मन्दिर बनाउन शुरु गर्नुस् भन्ने जस्ता कार्य गर्दै आएका छन् । धर्मप्रति जनताको आस्था हुन्छ । त्यो आस्थालाई सम्मान गर्नुपर्छ । तर, ओलीले धर्मका नाममा आफ्नो सत्ताको आयु बढाउने कार्य तरुन्त रोक्नुपर्छ । नेकपाको विवाद समाधान गर्ने नाममा ओलीले कोभिड–१९ नियन्त्रणमा लापरबाही गर्नु हुँदैन ।

नेकपाको सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि राम्रोसँग कामहरू गर्न सकिरहेको छैन । अस्पतालहरूको अवस्था उस्तै छ । चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामग्री पर्याप्त रुपमा छैन । जोखिममा रहेर स्वास्थ्यकर्मीहरूले काम गरिरहेका छन् । सरकारले सबै काम गरेको भनेर दाबी गरिरहेको छ । तर, अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको अवस्था दैनिय रहेको छ ।

नेपाली कांग्रेसले पनि कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्न सरकारलाई दवाव दिनुपर्ने थियो । तर, दवाव दिन सकिरहेको छैन । प्रत्येक दिन जस्तै मान्छेहरू संक्रमणबाट मरिरहेका छन् । उपचार गर्न जाने बिरामीहरूलाई अस्पतालहरूले भर्ना लिन मानेका छैनन् । उपचार नपाएकै कारण धमाधम ज्यानहरू गइरहेको छ । नेकपाको सरकारलाई दवाव दिने बेला कांग्रेस आन्तरिक किचलोमा परेको छ ।

कांग्रेसभित्रको आन्तरिक विवादका कारण सरकारलाई झन् सजिलो भएको छ । नेकपाको सरकारले मनपरि कार्यहरू गरिरहेको छ । देशमा सुशासन छैन । जताततै भ्रष्टाचार, कुशासन छ । कमिशनको चक्करमा लागेर कर्मचारी र राजनीतिक दलका नेताहरूले काम गर्दैनन् ।

मन्त्रीहरूको पनि उस्तै अवस्था छ । यस्तो अवस्थामा कांग्रेस र नेकपाका राम्रा नेताहरूले कोभिड–१९ बाट जनताको जीवन बचाउन पहल गर्नुपर्छ । सबै मिलेर अगाडि बढ्नुको बिकल्प छैन ।

Published : Saturday, 2020 August 29, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया