कांग्रेसकाे घाँटीमा घण्टी कसले बाँध्ने ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका प्रभावित हुन शुरु भइसकेको छ । कोरोना महामारीका बेला महाधिवेशन गर्ने भनेर कांग्रेसको कार्यतालिका संशोधन गरेर जारी गरिएको थियो । बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने भने जस्तै महाधिवेशन समयमा हुँदैन भनेर बोल्न सकैले सकेनन् ।

त्यसको फाइदा रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले उठाएका छन् । अबको सात महिनाभित्र कांग्रेसको महाधिवेशन कुनै पनि हालतमा हुन सक्दैन । कोरोना महामारीका कारण जनताले धमाधम ज्यान गुमाइरहेका छन् । दैनिक ३–४ सय जना संक्रमित भइरहेका छन् । कोरोनाले मध्य र पूर्वी तराई तथा काठमाडौं उपत्यकालाई निशाना बनाएको छ ।

कोरोनाबाट आफ्नो जीवन कसरी रक्षा गर्ने भनेर दिनरात सोँच्नुपर्ने बाध्यता भएका बेला कांग्रेसको १४औँ महाधिवेशन फागुन महिनामा हुन्छ भन्नु भनेको पत्यार नलाग्ने कुरा हो । रामचन्द्र पौडेलले मंगलबार विज्ञप्ति जारी गरेर कोरोनाको महामारी काठमाडौं उपत्यकामा अनियन्त्रित रुपमा फैलिएको भन्दै अत्यावसेक बाहेकका सबै भेटघाटहरू स्थगित गरेका छन् । पौडेल मात्रै होइन कांग्रेसका अन्य शीर्ष नेताहरूले पनि कार्यक्रमहरू स्थगित गरिसकेका छन् ।

महाधिवेशन समयमा नहुने भएपछि नेविसंघ, तरुण दलका साथै विभागहरूलाई पूर्णता दिनुपर्छ । सभापति शेरबहादुर देउवाले विभागहरूलाई विस्तार गरिरहेका छन् । पौडेल–कोइराला समूहलाई ६०–४० अनुसार भाग दिइएको छ । कोइराला–पौडेल समूहले लाज नमानेर ४० प्रतिशत भाग लिएर विभागहरू विस्तारमा सहयोग गर्नुपर्छ । कम्युनिस्टहरूको दब्दबा रहेका बेला कांग्रेसका शीर्ष नेताहरू जुँगाको लडाइँ नगरेर विभाग गठन गर्नु उपयुक्त हुन्छ । पौडेल–कोइराला समूहमा उपगुटहरू रहेकाले ४० प्रतिशतमा आफ्ना नेताहरू व्यवस्थापन गर्न समस्या भएपछि देउवालाई असहयोग गरेको कुरा सबैले बुझेका छन् ।

आफूभित्रको विवाद मिलाउन नसक्ने देउवालाई पनि काम गर्न नदिने कार्य पौडेल–कोइराला समूहले तत्काल रोक्नुपर्छ । कोइराला–पौडेल समूहलाई आफ्ना नेताहरू थामेर राख्न समस्या भएको छ । देउवाले पौडेल–कोइरालाको भाग राखेर आफ्नो भागमा परेका विभागहरू धमाधम विस्तार गरेपछि पौडेल–कोइराला निकटका नेताहरू देउवाको ढोकामा पुगेका छन् ।

अब यो सबै कुरालाई भुलेर पौडेल–कोइराला समूहले देउवालाई सहयोग गर्नुपर्छ । होइन भने हातमा आएको भाग फुत्किएर भइँमा झर्नेछ । त्यसको बेफाइदा कांग्रेसलाई हुनेछ । कांग्रेसभित्रको झगडाको फाइदा कम्युनिस्टले उठाउनेछन् । १४औँ महाधिवेशनमा विभाग गठनको कुरालाई पौडेल–कोइराला समूहले एजेण्डाका रुपमा अगाडि बढाउन खोज्नुलाई सबैले राम्रैसँग बुझेका छन् ।

Published : Saturday, 2020 August 8, 9:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया