कम्युनिस्ट प्रधानमन्त्री ओलीज्यू मुख सम्हालाैँ

सम्पादकीय

प्रधानमन्त्री खड्गप्रसाद ओलीका अभिव्यक्तिहरूले धेरै ठूलो अर्थ राख्छन् । प्रधानमन्त्रीले बोल्ने कुराहरू आफैमा एक किसिमको कानून र ऐन पनि हुन् । त्यसैले मुलुकको कार्यकारी प्रमुखले बोल्दा विचार गर्नुपर्छ । यदि बोल्नै पर्छ भने लिखित रुपमा सल्लाहकारहरूसँग परामर्श गरेर अभिव्यक्ति दिनुपर्छ ।

अमेरिका, बेलायत, जापान, चीनलगायतका शक्तिशाली राष्ट्रका राष्ट्र प्रमुखहरूले अभिव्यक्ति दिँदा लिखित रुपमा नै बोल्ने छन् । उनीहरूले बोल्ने कुरालाई लिखित रुपमा वितरण गरिन्छ । जसले गर्दा विचार गरेर त्यस्ता अभिव्यक्ति आउने गरेका हुन्छन् । उनीहरूले बोल्ने क्रममा कति समय बोल्ने भन्ने कुरा पनि पहिला नै स्पष्ट हुन्छ ।

तर, हाम्रा प्रधानमन्त्रीको हरेक अभिव्यक्तिहरू विवादित हुन्छन् । बोल्न थालेपछि भाषण कति बेला सकिन्छ भन्ने नै थाहा हुँदैन । भाषण सुन्ने दर्शक समेत निद्राले बसेकै स्थानमा लड्ने अवस्था आउँदासम्म हाम्रो प्रधानमन्त्रीले बोल्न गर्ने गरेका धेरै उदाहरण छन् ।

प्रधानमन्त्रीले संसदमा भारतविरुद्ध दिएको अभिव्यक्ति होस् वा सबै विवादित छन् । आफ्नै अभिव्यक्तिले ओली यति धेरै आलोचित बनेका छन् कि भारतसँगको कुटनैतिक सम्बन्ध नै धरासायी हुन पुगेको छ । ओलीसँग भारतले वार्ता नै गर्न चाहेको छैन ।

सोमबार ओलीले भगवान श्रीरामको जन्मभूमिका विषयमा दिएको अभिव्यक्तिले सिङ्गो भारत रिसाएको छ । यसअघि ओलीसँग भारतीय शासकहरू मात्रै रिसाएका थिए । ओलीले होस नपुर्‍याएर बोल्दा भारतका जनता समेत यस पटक रिसाएका छन् ।

भारतको जनता मात्रै होइन हिन्दूधर्मप्रति आस्था राख्ने नेपालीहरू समेत ओलीसँग रिसाएका छन् । ओलीसँग भारत र नेपालका जनता रिसाएपछि ओलीले परराष्ट्रष्ट मन्त्रालयमार्फत विज्ञप्ति निकालेर भुलसुधार गर्न खोजेका छन् । तर, ओलीले जति भुलसुधार गर्न खोजेपनि आस्थामाथि चोट पुर्‍याउन खोज्नु ठूलो भुल भएको छ । ओलीको यो भुलको मूल्य नेपाली जनताले चुकाउनुपर्नेछ ।

बलियो सरकारका प्रधानमन्त्रीबाट आउने यस्ता खालका उट्पट्याङ कुराले नेपाल–भारतको सम्बन्ध त बिगार्नेछ । तर, दुबै देशका जनताबीचको सम्बन्धमा पनि दरार ल्याउन सक्नेछ । प्रधानमन्त्री ओलीले अबका दिनमा मुख सम्हालेर बोलेकै उचित हुनेछ । होइन भने ओलीका कारण जनताले दुःख पाउनेछन् ।

Published : Friday, 2020 July 17, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया