कांग्रेसलाई बलियो र युवालाई सक्रिय बनाउन तरुण विभाग गठनः शंकर भण्डारी (अन्तर्वार्ता)

नेपाली कांग्रेसको तरुण विभाग विस्तार भएको छ । विभागको संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले देशभरिका तरणहरूलाई सक्रिय बनाउने बताएका छन् । विभागको सचिवालय स्थापना गरेपछि संगठनको कामलाई तिब्रता दिइनेछ । तरुण विभागले अब कसरी काम गर्छ भनेर पूर्वमन्त्री समेत रहेका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीसँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको कुराकानीको सम्पादित अशं –

तपाई नेपाली कांग्रेसको तरुण विभागको प्रमुख भएपछि के–के काम गर्नुभएको छ ?

पार्टी सभापतिले विश्वास गरेर तरुण विभागको जिम्मेवारी दिनुभएको छ । विभिन्न कारणले यो विभागलाई पूर्णता दिन ढिलाइ भइरहेको थियो । देशको राजनीति पनि जटिल बन्दै छ । कांग्रेसमाथिको चुनौती पनि धेरै बढ्दै छन् । कांग्रेसको भूमिकामाथि पनि प्रश्न उठ्दै छ । तरुण विभाग किन गठन गर्नुपर्‍यो ? भन्ने यसको मकसद छ ? जे आवश्यक्ताले तरुण विभाग गठन गर्नुपर्‍यो त्यसकै आवश्यक्तालाई परिपूर्ति गर्न तरुण विभागको पहिलो विस्तार गर्ने काम सभापतिको निर्देशन र सहमतिमा गरिएको छ ।

विस्तारित समितिको कार्यालय स्थापना हुनेदेखि तरुण दलका भावी रणनीति, तरुण विभागले गर्नुपर्ने जिम्मेवारीभित्रका आफ्नो कार्यनीति र रणनीतिमा छलफल गर्ने विभाग विस्तार गरेका छौँ ।

नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिमा जम्मा तीन जनामात्रै छन् । तरुण विभागले पूर्णता पाउन थालिसक्यो । यसको तालमेल त मिलेन नि ?

तरुण दलको मौजुदा कार्यसमितिका बारेमा कांग्रेसको केन्द्रीय कार्यसमितिमा औपचारिक र अनौपचारिक कुराहरू उठेको छ । यसलाई तोकेको कार्यविधिको समायावधिमाथिको कुरा र चर्चा चल्न थालेको छ । अर्थत त्यो समयावधि समाप्त हुन लागेको कुरा उठेको छ । म विभागीय प्रमुखको नाताले र हाम्रो विभागको नाताले यसलाई गम्भीरतापूर्वक लिनै पर्ने विषय छ । गम्भीर रुपमा लिन्छौँ पनि ।

पार्टी सभापति र नेताहरूसमक्ष तरुण दलको कार्यसमितिलाई कुन ढंगले पूर्णता दिने भन्नेबारेमा हामीले छिट्टै पार्टीमा सरसल्लाह गर्छौं । विभागमार्फत तरुण दललाई पूर्णता दिने काम पूरा हुन्छ भन्ने विश्वास छ । पूरा गर्नुपर्छ भन्ने मेरो अठोट पनि छ ।

तरुण दलको कार्यसमितिलाई पूर्णता दिनेबारेमा पार्टी सभापति शेरबहादुर देउवाले नै रोक्नुभएको भन्ने कुरा आएको छ । हो र ?

पार्टी सभापतिले रोकेको भन्ने कुरा गलत हो । तपाईलाई थाहा नै छ विगतमा तरुण दल, नेविसंघ निर्माण गर्दा, कार्यसमिति बनाउँदै गर्दा पार्टीमा समूहगत भागबण्डाको रुपमा साथीहरूलाई सिफारिस गर्ने र त्यो ढंगले कार्यसमिति बन्ने अभ्यास हामीले गरेका छौँ । त्यसको समीक्षा गर्नुपर्छ भन्ने मेरो भनाइ छ । त्यो ढंगको अभ्यास हामीले गर्दै गर्दा त्यो प्रक्रियाबाट भ्रातृसंस्था निर्माण गर्दै गर्दा त्यसको आउटपुट के त ? भन्ने कुरा प्रमुख भएको कारणले त्यसलाई समीक्षा गर्नुपर्‍यो ।

आफैमा पनि भ्रातृ संस्थाको निर्माण पार्टीभित्र अनिवार्यता छ । पार्टी निर्माण र पार्टीका चुनौतीलाई सामना गर्नको लागि नेविसंघ, तरुण जस्ता भ्रातृ संस्था सक्रिय बनाउन अनिवार्य विषय नै छ । विगतको कार्यशैलीलाई विगतको कुरालाई समीक्षा गर्दै भावी दिनमा तरुण दल लगायतका संस्थालाई तल कसरी सक्रिय बनाउने भन्ने कुरा हाम्रो जिम्मेवारी छ । यो हाम्रो आन्तरिक व्यवस्थापनको विषय पनि हो । यसलाई हामीले छलफल गर्छौं ।

संयोजकसहित बीस सदस्यीय विभाग विस्तार गर्नुभयो । त्यो पनि सभापति शेरबहादुर देउवा निकटका मात्रैलाई राखेर विस्तार गरेको भनेर आरोप लागेको छ नि हो ?

बाहिर कसले कसरी समीक्षा गरेको छ । बुझेको छ त्यो समीक्षा गर्ने र बुझ्नेले जान्ने कुरा भयो । यसमा कांग्रेसका मान्छे समावेश गरिएको छ । पार्टीको विधानअनुसार कार्यसमिति ५१ सदस्यीय बन्छ । अझै पनि धेरै साथीहरूलाई समावेश गर्न बाँकी छ । अहिले पनि हेर्दा धेरै ठूलो थारु समुदाय छ । थारु समुदायको प्रतिनिधित्व गर्न बाँकी छ । राईलगायतका आदिवासी र जनजातीहरूको प्रतिनिधित्व गराउन बाँकी छ । दलित समुदायको आवश्यक्ताअनुसार थप गर्न बाँकी छ । महिला केही थप गर्न बाँकी छ ।

त्यसभित्र पनि एउटा समुदाय र वर्गको प्रतिनिधित्व मात्र नभइ यसको आधारहरू पनि खोज्ने कोशिस गरेको छ । अहिले घोषणा गरिएका कार्यसमितिका सदस्यमध्य धेरैलाई न्याय गरिएको छ । कथित सशस्त्र द्वन्दद्वमा माओवादीबाट बाबु मारिएका नन्द विष्ट र श्रीकुमारी घर्तीलाई कार्यसमितिमा राखिएको छ । गुरुङ, मगर, मुस्लिम, दलित, महिलालाई पनि राखिएको छ । भेगीय रुपमा पनि सबैलाई समेट्ने प्रयास भएको छ । बाँकी पूर्णता दिने कुरामा अझ ध्यान दिइनेछ । सबैको प्रतिनिधित्व मात्रै होइन सक्रियता बनाउन सक्ने साथीहरूलाई पनि खोजिनेछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायतका नेताहरूले कांग्रेसको विभागहरूमा असहमति जनाएका बेला तपाईले विभाग गठन गर्नुभएको छ । यस्तो अवस्थामा कसरी काम गर्नु हुन्छ ?

कांग्रेसको केन्द्रीय कार्यसमितिमा यो कुराको जानकारी गराइसकेको छु । पार्टीका आदरणीय नेताहरूलाई तरुण विभाग गठन हुँदै छ, विभागमा राख्न उचित ठानिएका साथीहरूको नाम केन्द्रीय कार्यसमितिमा जति सक्दो छिटो उपलब्ध गराइदिनु होला भनेर मैले आग्रह गरेको छु । कसरी नाम आउँछ हाम्रो सचिवालयमा त्यसबाट उपयुक्त साथीहरूलाई मैले सल्लाहले थप बाँकी सदस्यहरूलाई राख्ने हो । कसले सहमति र विमती जनाउँछ भन्ने पार्टीभित्र आफ्नो कुरा रहँदै गर्ला । तरुण विभाग गठन गर्ने भनेको समूह निर्माण गर्नको लागि होइन । कांग्रेसलाई बलियो बनाउनको लागि हो ।

कांग्रेसलाई मजबुद बनाउनको लागि हो । कांग्रेसका सामु आएका चुनौतीलाई सामना गर्नका लागि देशभरका तरुणलाई तरुण विभागमार्फत सक्रिय बनाउने मकसद र उदेश्यले यो विभाग विस्तार र निर्माण गर्न लागिएको छ । कांग्रेस बन्दा कांग्रेसका सबै नेता बलिया हुनेछन् । तरुण विभागले राम्रो काम गरेको अवस्थामा सबै नेताहरूलाई त्यसले सहयोग पुर्‍याउनेछ । पार्टीलाई त्यसले बल पुर्‍याउनेछ । पार्टीलाई बल पुर्‍याउँदा सबै नेतालाई त्यसले पाइदा नै गर्नेछ ।

कांग्रेसका चार दर्जन विभागहरू छन् । तपाईकै तरुण विभाग सक्रिय हुनुको कारण के हो ? सभापति देउवाले तपाईलाई काखी च्याप्नु भएर हो कि ? तपाईले कम देखाउँ भनेर हो कि के हो ?

अरु विभागहरू पनि गठन प्रक्रियामा छन् । अरु विभागीय प्रमुखज्यूहरूले पनि आफ्नो विभागलाई पूर्णता दिने कामको शुरुवात गरिसक्नुभएको छ । गृहकार्य गरिरहनुभएको छ । विभाग गठन गर्न ढिला भइसकेको थियो । केन्द्रीय विभागहरू घोषणा गर्ने, गठन गर्ने विषयमा ढिला भएको थियो । विभागहरू धेरै पहिला गठन हुनुपर्ने थियो । विभागीय प्रमुखहरू चयन भएको नै धेरै लामो समय भइसक्यो । १४औँ महाधिवेशनको संघारमा पनि छौँ ।

महाधिवेशनलाई व्यवस्थित गर्ने कुरामा विभागहरूको भूमिका महत्वपूर्ण हुन्छ । मर्यादित बनाउने कुरामा सहयोग हुन्छ । कांग्रेससामु अहिले जुन चुनौती र जिम्मेवारी छन् त्यसलाई सामना गर्न पनि विभागहरू विस्तार आवश्यक थियो । पार्टी सभापतिले केही भन्नुभएको छैन । उहाँले विभागलाई पूर्णता दिन निर्देशन दिएपछि अगाडि बढेको हुँ । सभापतिको सहयोग त अनिर्वाय नै हुन्छ ।

तरुण विभागको पदाधिकारी र सदस्य बन्नका लागि मापदण्ड केही छ कि ?

पार्टीलाई सक्रियता बनाउने आधार चाहिन्छ । विभागमा पर्ने साथीहरूको विगतको भूमिका पार्टीमा के छ भन्ने कुरालाई विशेष ध्यान दिइएको छ । पार्टीमा विगतमा लगानी, उहाँहरूको योग्यता र क्षमतालाई सकेसम्म मापन गर्ने कोशिस गरिएको छ । पदाधिकारी र सदस्यमा आउने साथीहरूको मूल्यांकन गरेर नै ल्याएको छ । बाँकी रहेका सदस्यहरूलाई पनि त्यही मापदण्ड हुनेछ ।

तपाईले सभापतिको संरक्षणमा तरुण विभागलाई एकलौटीमा रुपमा कब्जा गर्नुभयो रे ? मनोमानी गर्नुभयो भन्ने आरोप पनि छ नि ?

कसले कसरी बुझ्छ त्यो व्यक्तिको बुझाइको कुरा भयो । मेरो स्पष्ट मनसाय छ । मेरो केही पनि स्वार्थ छैन । मैले व्यक्तिगत स्वाथ लिनुपनि हुँदैन भन्ने कुरा मलाई राम्रोसँग जानकारी छ । कांग्रेस बन्यो भने देश बन्छ । जनता बन्छन् । त्यही नै हो मेरो उदेश्य भनेको ।

विभागलाई सक्रिय कहिलेदेखि बनाउनु हुन्छ ?

देशभरिका तरुणहरूलाई संगठित गर्ने हो । पार्टीको भ्रातृ संस्थाको रुपमा रहेका तरुण दललाई जतिसक्दो छिटो पूर्णता लिएर यसलाई बढि सक्रिय बनाउनुपर्छ । अन्य पार्टीमा रहेका युवाहरूलाई पनि कांग्रेसको नीति र सिद्धन्तमा गोलबन्द गर्दै कांग्रेस पार्टीलाई बलियो बनाउने उदेश्य हो । आवश्यक्ता पनि त्यही हो । त्यही कुरा मैले गर्ने हो ।

Published : Thursday, 2020 July 16, 6:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया