विद्यार्थीलाई गाेली चलाउने कार्य अत्याचार भयाेः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाँके जिल्लाको कोहलपुरमा विद्यालय जाँदै गरेकी छात्रा प्रकृति चन्दलाई ट्रकले खुट्टामा कुल्चेर गम्भीर घाइते बनाएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गरेर सो घटनाको विरोधमा उत्रेका विद्यार्थीलाई प्रहरीले रबर गोली, अश्रु ग्याँस तथा कुटपिट गरी दमन गर्न खोजेको घटनाप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन् ।

‘देशको शान्ति सुरक्षा कायम गर्ने निकाय जस्तो जिम्मेवार निकायले संयमित भई कर्तव्य पालना गर्नुको साटो त्यसको ठिक विपरित गैरजिम्मेवारपूर्ण ढंगले घटनालाई झन उत्तेजित र आक्रोशित बनाउने कार्यमा संलग्न भएको छ’, खाँणले भनेका छन् ।

‘विद्यालयभित्र रहेका विद्यार्थी लगायत बाटोमा हिडिरहेका सर्वसाधारणलाई समेत कुटपिट गरेको घटना अत्यन्त निन्दनीय छ’, नेपाली कांग्रेसले जनाएको छ ।

‘घाइते विद्यार्थीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त घटनामा गम्भीर भई घाइते भएकी प्रकृति चन्द लगायत अन्य घाइतेहरुको उचित स्वास्थ्य उपचार एवं उचित क्षतिपूर्तिको व्यवस्थाका साथै यस घटनाको सत्यतथ्य छानविन गरी संलग्न दोषीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यस्ता प्रकारका घटना पुनः नदो¥याउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई संयमका साथ सचेत रहन नेपाली कांग्रेस आग्रह गर्दछ’, प्रमुख सचेतक खाँणले भनेका छन् ।

Published : Monday, 2019 December 9, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया