नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन, प्रहरीलाई तनाब

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बाँकेको कोहलपुरमा विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

कोहलपुरमा प्रहरीले स्कुलका विद्यार्थीमाथि दमन गरेको भन्दै सोमबार काठमाडौंमा नेविसंघले प्रदर्शन गरेको हो ।

काठमाडौंका चाबहिलमा दोषी प्रहरीलाई कारबाही र गृहमन्त्री रामबहादुर थापाको राजीनामाको माग गरेर नेविसंघले प्रदर्शन गरेको थियो ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस ईकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरूले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेका छन् ।

पशुपति क्याम्पसबाट शुरु भएको विरोध ¥याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो ।

नेविसंघका नेता मनोज वैद्यले भने, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’

आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीसहित दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीको आक्रमणबाट ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

Published : Monday, 2019 December 9, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया