कम्युनिस्ट नेताकी कान्छी पत्नी खुसी, मन्त्रीकी भाञ्जी फायर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री कर्णबहादुर थापाले आफ्नी कान्छी पत्नीलाई सूचना आयोगको आयुक्त नियुक्तिमा सिफारिस गराएका छन् ।

दुईतिहाइको कम्युनिस्ट सरकारले थापाकी कान्छी पत्नी कमला ओलीलाई आयुक्तमा सिफारिस गरेको हो । ओली अधिवक्ता पनि हुन् ।

ओलीको माइत झापा जिल्लामा पर्छ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिने कमला ओलीले आयुक्त पदमा कब्जा जमाएकी छिन् ।

कमला ओलीले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलकी भाञ्जी पुनम पौडेललाई उछिनेर आयुक्त पद हत्याएको स्रोतले जनाएको छ ।

आयुक्तमा नियुक्ति खान पुनम पौडेलले मामा ईश्वर पोखरेललाई दवाव दिँदै आएकी थिइन् ।

कुनै बेला कान्तिपुर टेलिभिजनमा समाचार बाचन गर्ने पुनम पौडेलले आयुक्त पद नपाएपछि मामा ईश्वर पोखरेलसँग पड्किएकी छिन् ।

कम्युनिस्ट सरकारले सूचना आयोगका प्रमुख आयुक्तका लागि पूर्वसञ्चार सचिव महेन्द्रमान गुरुङलाई सिफारिस गरिएको छ ।

आयोगका आयुक्तमा दीपक मैनालीको नाम पनि सिफारिस भएको छ ।

निर्वाचनमा पराजित भएका कर्णबहादुर थापालाई ओलीले सुदूर पश्चिम प्रदेशको नेकपाको अध्यक्ष बनाएका छन् ।

सूचना आयोगका प्रमुख आयुक्तको सुविधा उच्च अदालतका मुख्य न्यायाधीश र आयुक्तको उच्च अदालतका न्यायाधीश बराबर हुन्छ ।

Published : Monday, 2019 December 9, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया