लाजिम्पाटमा भीभीआईपीहरूलाई डबल ब्ल्याक लेबल र चौरासीब्यञ्जन

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता एवम् पूर्वमन्त्री राजेन्द्र महतोको छोरा राघवेन्द्र महतोको विवाहमा भीभीआईपीहरूका लागि विशेष व्यवस्थासहित डबल ब्ल्याक लेबल रक्सी खुवाइएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित होटेल शंकरमा आइतबार साँझ दिइएको रिसेप्सन पार्टीमा सहभागी भीभीआईपीहरूलाई होटेलको माथिल्लो तलामा विशेष व्यवस्था गरिएको थियो ।

भीभीआईपीहरूलाई छुट्टै व्यवस्था गरिएको स्थानमा सर्वसाधारणलाई छिर्न त के हेर्न जान पनि दिइएको थिएन ।

विवाह कार्यक्रममा आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजाल, राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव, प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका भीभीआईपीहरू होटेलको माथिल्लो तलामा सहभागी थिए ।

अधिकांश भीभीआईपीहरूले डबल ब्ल्याक लेबल, बियर र वाइन खाएको प्रत्यक्षदर्शी उच्च स्रोतले जनाएको छ ।

‘अधिकांश भीभीआईपीहरूले रक्सी खाएको मैले देखे’, स्रोतले भन्यो, ‘भीभीआईपीहरू आफ्नो सुविधाअनुसार टेबुलमा बसेर रमाइलो गर्नुभएको थियो ।’

भीभीआईपीहरूका लागि डबल ब्ल्याक लेबल रक्सी, बँदेल, खसी, माछा, जुस, वाइन लगायतका परिकारहरू राखिएको थियो ।
भीभीआईपीहरूका लागि माथिल्लो तलामा नै खानपिनको व्यवस्था गरिएको थियो ।

भीभीआईपीका लागि खान र बस्नका लागि बनाइएको स्थानमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उनकी पत्नी हिसिला यमी, नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठसहितका नेताहरू गएनन् ।

उनीहरूले तलको हलमा सर्वसाधारणका लागि व्यवस्था गरिएको खाना खाएर बाहिरिएका थिए ।

विवाह भोजमा भीभीआईपीहरूलाई मात्रै रक्सी र विशेष खानेकुराको व्यवस्था थियो । सर्वसाधारणलाई भने रक्सीको व्यवस्था थिएन ।

राजपाका नेता एवम् पूर्वमन्त्री महताले विवाह भोजमा सर्वसाधारणलाई रक्सीको व्यवस्था नगरेर राम्रो गरेको प्रतिक्रिया आएको छ ।

भीआईपी र भीभीआईपीहरूका विवाह र अन्य भोजहरूमा रक्सी अनिर्वाय जस्तै हुन्छ । तर, निम्ता गरिएका पाहुनालाई खाना खुवाएर स्वागत गरेकोमा नेता महतोको प्रशंसा भएपनि भीभीआईपीहरूलाई ब्ल्याक लेबल रक्सी, बियर र वाइन सुटुक्क खुवाएकोमा आलोचना भएको छ ।
नेता महतोका छोराको गत बुधबार ललितपुरको हिमालय होटेलमा विवाह भएको थियो ।

काठमाडौंको डिल्लीबजार बस्ने प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग महतोका छोरा राघवेन्द्र महतोको विवाह भएको हो ।

मैथिली परम्पराअनुसार भएको सो विवाहमा पहाडी र मधेशी दुवै समुदायका व्यक्तिहरू सहभागी थिए ।

राघवेन्द्र र पलिशाको चिनजान पहिलादेखि नै थियो । खुमलटारस्थित एआईटी कलेजमा सँगै पढ्दा दुई जनाबीचमा चिनजान भएको थियो ।

पलिशा अनलाइन कम्पनी ‘दराज’मा कार्यरत छिन् । राघवेन्द्र फोहोरमैलाको क्षेत्रमा काम गर्ने डोको रिसाइकलरका सञ्चालक हुन् । दुवै जनाले एमबीए गरेका छन् ।

Published : Monday, 2019 December 9, 3:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया