सिंघम डीएसपी ढुंगेललाई पक्राउ गर्न पुर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल प्रहरीलाई डीएसपी कुमोध ढुंगेललाई पक्राउ गर्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको हो ।

उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो ।

लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए ।

गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो ।

गत चैत २६ गते काठमाडौं २९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए ।

चन्द्रागिरी नगरपालिका ८ का ३६ वर्षीय श्रेष्ठ र डिएसपी ढुंगेलबीच घटना गराएको भोलिपल्ट ढुंगेलले बोक्ने गरेको ९८५११८०००० र ९८०८२३७०८२ बाट सम्पर्क समेत भएको देखिएको महाशाखाले जनाएको थियो ।

चैत २७ गते ढुंगेलको एनसेल नम्बरबाट श्रेष्ठले बोक्ने गरेको नम्बर ९८५११५५१८४ बिहान १०ः३७ मा र नेपाल टेलिकमको पोस्पेड नम्बरबाट राति ८ः२३ मा एक पटक सम्पर्क भएको देखिन्छ ।

रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले वैशाख ६ गते पक्राउ गरेको थियो ।

पक्राउ पर्ने अन्य चन्द्रागिरी ८ का ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका ४ घर भई नैकाप बस्ने २८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन् ।

उनीहरूले रानीबारीका लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र मिठु थकालीबाट पाँच लाख ६० हजार बराबरको धनमाल लुटेको महाशाखाले जनाएको छ ।

धारिलो हतियार देखाएर हातखुट्टा बाँधेर, मुखमा टेप टाँसी उनीहरूको घरबाट धनमाल लुटिएको महाशाखाले जनाएको छ ।

डिएसपी ढुंगेल नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा परिचित छन् ।

डिएसपी ढुंगेलको नेतृत्वमा निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न मनोज पुन र सोम आलेको गत वर्ष रुपन्देहीमा इन्काउन्टर भएको थियो ।

Published : Wednesday, 2019 December 4, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया