अष्ट्रेलियामा नेपाली युवतीले पतिको ज्यान लिइन्

सिड्नी । अष्ट्रेलियामा एक नेपाली युवतीले आफ्नै श्रीमानलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेकी छिन् ।

मृत्यु हुनेमा सन्तोष गौतम रहेका छन् । अष्ट्रेलियन प्रहरीले शनिबार राति ग्रानभिलस्थित उनीहरूको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा फेला पारेको थियो ।

गम्भीर घाइते सन्तोषको वेस्टमेड अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

सन्तोषलाई उनकै ३४ वर्षीया श्रीमती नुमा गौतमले हत्या गरेको अष्ट्रेलियन प्रहरीले जनाएको छ ।

नुमाले आफ्ना श्रीमानलाई काँधमा चक्कुले प्रहार गरेकी थिइन् । सन्तोषको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।

नुमालाई प्रहरीको निगरानीमा वेस्टमेड अस्पतालमा सामान्य उपचारका लागि लगेको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि नुमालाई ग्रान्डभिल पुलिस स्टेशनमा राखिएको छ ।

घटनाको भएको केही घण्टा अगाडि सन्तोषलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षीया छोरी भएको घरमा फिर्ता भइरहेको सिसिटीभी क्यामरामा देखिएको अनुसन्धानका क्रममा खुलेको छ ।

गौतम दम्पत्तिकी छोरीलाई अष्ट्रेलियामा बस्दै आएका स्थानीय नेपाली समुदायले जिम्मा लिएका छन् ।

डेली मेलका अनुसार गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए । संघले आइतबार आयोजना हुन लागेको आफ्नो ए–ग्रेड म्याच पनि रद्द गरेको बताएको छ ।

Published : Wednesday, 2019 November 27, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया