यी १९ नेताहरू जसले देशलाई द्वन्द्वमा फसाए

काठमाडौं । सत्र हजारभन्दा धेरै नेपाली जनताको हत्या गराउने तत्कालीन नेकपा (माओवादी) पार्टीका १९ जनाको नेताहरूको अहिले आएर चर्चा हुन थालेको छ ।

माओवादीले ०५२ साल फागुन १ गते कथित जनयुद्धको सुरुवात गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १९ जना नेताहरूको गोरखा जिल्लामा बसेको बैठकले निर्णय गरेको थियो ।

गोरखाको दुर्गम गाउँको त्यही बैठकको निर्णयले गर्दा नेपाल देश विकास र अवसरबाट पचास वर्षभन्दा पछाडि धकेलिएको छ ।

कथित जनयुद्धका बेला माओवादीले खानेपानी, सडक, पुल, स्वास्थ्य चौकीका भवन, टेलिफोनका टावरहरू बमले उडाइदिए । हजारौँ सुरक्षाकर्मीको हत्या गरे । सयौँ सर्वसाधारणलाई दलाल र सुराकीका नाममा हत्या गरे ।

माओवादीकै कारण उनीहरूका नेता तथा कार्यकर्ताहरूले पनि अनाहकमा ज्यान गुमाए । धेरै सर्वसाधारणका सम्पत्ति नोक्सानी भयो । राज्यको अर्बौंको रकम नोक्सानी भयो । भारतमा बसेर भारतकै इसारामा जनयुद्ध लडेका माओवादीहरूको अहिले पत्तासाफ भएको छ ।

माओवादीको १० वर्षको कथित जनयुद्धलाई अहिले आएर औचित्य नै समाप्त हुने गरी ध्वस्त बनाइएको छ । माओवादीकै कारण अहिले पनि देशको विकास राम्रोसँग अगाडि बढ्न

सकेको छैन । जनयुद्धका बेला देखाइएका सपना र आश्वासनहरू सबै प्रचण्डसहित ती १९ जना नेताहरूले भुलेका छन् । सम्पत्ति कमाउन र भोगविलास र सुविधामा रमाउन रमाएका छन् । ती १९ जना नेताहरूमध्येका एकजनालाई त माओवादी आफूले हत्या गरिदिएका थिए ।

माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको माओवादीलाई गिरिजाप्रसाद कोइरालाले ०६३ मंसिर ५ गते शान्ति सम्झौता गराएर संसदभित्र प्रवेश गराएका थिए ।

त्यति बेला गिरिजाप्रसाद कोइरालाले एमालेलाई साइजमा राख्न एमालेकै बराबरीमा माओवादीहरूलाई सांसद बनाइदिएका थिए । त्यो बेलाको बदला एमाले नेतृत्वले अहिले आएर लिएको छ ।

एमालेमा माओवादी पार्टीलाई बिलय गराएका प्रचण्डले त्यस बेलाको बदला चुकाइ रहेका छन् । एमालेका नेताहरूले माओवादीका नेता तथा कार्यकर्ताहरूलाई अबसर दिएका छैनन् । नेकपाभित्र पेलानमा राखेका छन् । खड्गप्रसाद ओलीको दमनमा प्रचण्ड आफै परेका छन् ।

गोरखाको त्यो दुर्गम गाउँमा बसेको पहिलो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मरिन्छ कि बाँचिन्छ भन्दै सामूहिक तस्वीर खिचाएका थिए । त्यहीँबाट उनीहरूले गरेको निर्णयले नेपाली जनता र नेपाल देशले अहिले पनि दुःख पाइरहेको छ । नेपालमा राजनीतिक स्थिरता आएको छैन । बरु बाह्य हस्तक्षेप बढेर विदेशी सेना नेपालमा भित्रिने खतरण बढ्दै गएको छ ।

त्यो बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ (महामन्त्री), मोहन वैद्य ‘किरण’ (पोलिट्व्यूरो सदस्य), डा. बाबुराम भट्टराई ‘लालध्वज’ (पोलिट्व्यूरो सदस्य), रामबहादुर थापा ‘बादल’ (पोलिट्व्यूरो सदस्य), पोष्टबहादुर बोगटी ‘दीवाकर’ (पोलिट्व्यूरो सदस्य), सीपी गजुरेल ‘गौरव’ (पोलिट्व्यूरो सदस्य) रहेका थिए ।

त्यसै गरी केन्द्रीय समितिमा हरिबोल गजुरेल ‘शीतलकुमार’, यानप्रसाद गौतम ‘आलोक’, टोपबहादुर रायमाझी ‘अनिल’, देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’, पम्फा भुसाल ‘विद्युत्’, दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’, अग्निसापकोटा ‘कञ्चन’, फणिन्द्र आचार्य ‘अनल’, लोकेन्द्र विष्ट ‘अभ्यास’, हरिभक्त कंडेल ‘प्रतीक’, मातृका यादव ‘रामसिंह’, दिनेश शर्मा ‘सागर’ र नारायण शर्मा ‘कमलप्रसाद’ले पहिलो बैठकमा सहभागी थिए ।

यी १९ जना केन्द्रीय नेतामध्ये प्रचण्ड, बादल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देव गुरुङ, पम्फा भुसाल, अग्नि सापकोटा, मातृका यादव र नारायण शर्मा नेकपाको महत्वपूर्ण जिम्मेवारीमा छन् । उनीहरूले सबैभन्दा धेरै अवसर लिएका छन् । उनीहरूले आफ्नो छोरी, ज्वाइँ, नाति नतिना, बुहारी आदिलाई अबसरै अबसर दिएका छन् । बास्तविक रुपमा जनयुद्ध लडेकाहरू सडकमा भोक पेट बस्न बाध्य छन् ।

प्रचण्डसहितका नेताहरूको विलासिताको जीवनबाट दिक्क भएर मोहन वैद्य, डा.बाबुराम भट्टराई, सीपी गजुरेल, लोकेन्द्र विष्टले प्रचण्डलाई साथ छाडेर अलग पार्टी बनाएर बसेका छन् । वैद्य, गजुरेलले नेकपा (क्रान्तिकारी–माओवादी)मा छन् । डा. बाबुराम भट्टराई उपेन्द्र यादवको पार्टीमा छन् । लोकेन्द्र विष्ट कृषि व्यवसाय गर्दै आएका छन् ।

कथित जनयुद्धका बेला केन्द्रीय सदस्यमध्ये सुरेश वाग्लेको ०५६ सालमा मारिएका थियो । दण्डपाणि न्यौपाने बेपत्ता छन् । न्यौपानेलाई माओवादीकै नेताहरूले बेपत्ता बनाएको आरोप छ ।

तर, माओवादीका नेताहरूले सुरक्षाकर्मीले बेपत्ता बनाएको आरोप लगाउँदै आएका छन् । जनयुद्धका बेला यौन काण्डमा मुछेर प्रचण्डले आफ्नै नेता यानप्रसाद गौतम ‘आलोक’को हत्या गराएका थिए ।

प्रखर वक्ता गौतमको क्षमता र कौशलता देखेरै आत्तिएका प्रचण्डले उनको हत्या गराएको चर्चा हुने गरेको छ । प्रचण्डले गौतमलाई पार्टीभित्र कारबाही पनि गराएका थिए । पोष्टबहादुर बोगटीको शान्ति प्रक्रियामा आएपछि हृदयघातका कारण निधन भयो ।

Published : Tuesday, 2019 June 25, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया