कम्युनिस्ट सरकारविरुद्ध पहिलो पटक ललितपुरमा हजारौँले गरे प्रदर्शन (तस्वीर)

पाटन । ललितपुर जिल्लामा कम्युनिस्ट सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकको विरोधमा भव्य प्रदर्शन भएको छ ।

गुठी विधेयकको विरोधमा बिहीबार ललितपुरका स्थानीयले स्वस्फूर्त रुपमा पाटनको मंगलबजारमा विशाल प्रदर्शन गरेका हुन् ।

नेपाल गुठी संरक्षण संघ संस्थाको अगुवाइमा भएको विरोध कार्यक्रममा हजारौँको संख्यामा सर्वसाधारण उपस्थिति रहेको थियो ।

पाटन दरबार स्क्वारमा भएको प्रदर्शनमा उपस्थित गुठी पुचका सदस्य बागेश्वोर राजोपाध्यायले सरकारले ०३३ सालदेखि नै मोहीयानी हक दिने भनेर विधेयक पास गरेपछि लाखौं रोपनी जग्गा मासिएको बताएका छन् ।

नेवार समुदायले भगवानको नाममा चढाएको जग्गामा मोहीयानी हक लगाएर मासेको र भूमाफिया विधेयक स्वीकार्य नभएको उनले बताए ।

कार्यक्रम संयोजक रविन्द्र ताम्राकारले गुठी विधेयक कुनै पनी हालतमा पास हुन नदिने बताएका छन् ।

उपत्यकाको संस्कृति विरोधी, जनता विरोधी विधेयक भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

गुठी सम्बन्धी ऐनको आवश्यकता नै भएमा सन्बन्धित सरोकारवालासँग छलफल र अध्ययन गरेर मात्र नयाँ गुठी बिधेयक ल्याउनु पर्ने उनीहरुको माग छ ।

‘सम्पूर्ण गुठीयार एक हौँ’, ‘गुठी हाम्रो प्राण हो’, ‘सम्पदा मास्न पाइँदैन’ जस्ता नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

गुठी विधेयक विरोधमा उत्रिएकाले भूमिसुधार तथा शहकारी व्यवस्थामन्त्री पदमा अर्यालको राजीनामा समेत माग गरेका छन् ।

पाटनमा पहिलो पटक गुठी विधेयकका विरोध गरेर यति ठूलो संख्यामा बिहीबार प्रदर्शन भएको हो ।

Published : Thursday, 2019 June 13, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया