रेणुलाई जिताउन काण्ड गर्ने माओवादीका दुई धुन्दुकारी दोषी ठहरिए

भरतपुर । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मतगणनाका बेला मतपत्र च्यात्ने तत्कालीन माओवादी केन्द्रका कार्यकर्ताद्वय मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई जिल्ला अदालत चितवनले दोषी ठहर गरेको छ ।

चितवन जिल्ला अदालतले बिहीबार गरेको सुनुवाईपछि न्यौपाने र शिवाकोटीलाई दोषी मानेको हो । असार ५ गते कार्वाही फौसला गर्ने गरी उनीहरूलाई दोषी ठहर गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिएका छन् ।

माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेकी पुष्पकमल दाहाल ‘प्रचण्ड’की माइली छोरी रेणु दाहालले एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीसँग पराजित हुने भएपछि आत्तिएका न्यौपाने र शिवाकोटीले मतपत्र च्यातेर भाँडभैलो मच्चाएका थिए । सोही कारण मतपत्र च्यातिएको एउटा वडाको पुनः मतदान गरिएको थियो ।

मेयरमा जित्दै गरेका एमालेका देवी ज्ञवाली मतपत्र च्यातिएको काण्डपछि पराजित भएका थिए ।

चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपाने र शिवाकोटीलाई कसुरदार ठहर हुने गरी आदेश दिएको श्रेस्तेदार गिरीले बताए ।

शिवाकोटी र न्यौपानेको तर्फबाट बहस गरेका अधिवक्ता गोपीलाल देवकोटाका अनुसार यो मुद्दामा सरकार पक्षले एक लाख रुपियाँ जरिवाना र दुई वर्ष कैदको सजाय माग गरेको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग भएको अधिवक्ता देवकोटाले जानकारी दिए ।

मुद्दा दर्ता भएर थुनछेक आदेश भएको दुई वर्षपछि चितवन जिल्ला अदालतले भरतपुर महानगरपालिकाको मतपत्र च्यातेको काण्डको बिहीबार उक्त मुद्दामा पहिलो पटक बहस भएको थियो ।

यसअघि २४औं पटकसम्म पेसी तोके पनि स्थगित हुँदै आएको थियो । शिवाकोटी र न्यौपानेविरुद्ध ०७४ सालको जेठ १७ गते मुद्दा दायर भएको थियो ।

सामान्यतया मुद्दा दायर भएको दुई वर्षभित्रै फैसला आउँछ । तर, यो मुद्दामा त्यो समय पार भएको छ ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा ०७४ सालको जेठ १५ गते मध्यराति माओवादी केन्द्रका कार्यकर्ता शिवाकोटी र न्यौपानेले मा मतपत्रहरू च्यातिदिएका थिए ।

कुल २९ वटा वडाहरू रहेको भरतपुरमा वडा नम्बर १९ को मत गनेर सकिनै लाग्दा रेणु दाहाल पराजित हुने निश्चित जस्तै भएपछि यी धुन्दुकारीहरूले मतपत्र च्यातेका थिए । २० नम्बर वडाको मात्रै मत गणना गर्न बाँकी थियो ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा फेरि मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । मतदानको विषयमा सर्वोच्च अदालतले नै टुंगो लगाएको थियो ।

चितवन जिल्ला अदालतबाट भएको यो आदेशले निर्वाचन परिणाम कुनै असर पर्दैन । यो मतपत्र च्यातेको अपराध विरुद्धको मुद्दा मात्र हो । शिवाकाेटी र न्याैपाने दाेषी ठहर भए पनि रेणु दाहालकाे मेयर पद भने सुरक्षित रहेकाे छ ।

मतपत्र च्यातिएको काण्डमा जिल्ला अदालत चितवनले ढिलै भएपनि न्यौपाने र शिवाकोटीलाई सजाय दिएर न्याय गरेको सरकार पक्षका कानून व्यवसायीहरूले बताएका छन् ।

Published : Thursday, 2019 June 13, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया