माधवको भेलामा झण्डा हल्लाउँदै पुगे मन्त्रीहरू, ओली–प्रचण्डलाई ‘थ्रेट’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश बाहिर रहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले भेला बोलाएर नेतृत्वलाई दवाव सिर्जना गरेका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित एउटा रेष्टुरेन्टमा शुक्रबार झण्डै तीन घण्टा चलेको भेलामा नेकपाका सचिवालय सदस्य, संसदीय दलका उपनेतादेखि बहालवाला मन्त्रीसम्म पुगेका थिए ।

नेता नेपालले अध्यक्षद्वय ओली र प्रचण्डको कार्यशैली, सरकारको काम कारबाही लगायतका विषयमा स्थायी समितिका सदस्यहरूसँग सल्लाह माग गरेका थिए । त्यसपछि बैठकमा स्थायी समितिका सदस्यहरूले नेतृत्वप्रति असन्तुष्टि राखेका थिए । भेलामा नेपाल समूहका स्थायी समिति सदस्यहरूको बाहुल्यता रहेको थियो ।

भेलामा सहभागी प्रभावशाली नेता वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ भने भेला चलिरहेकै बेला बैठकबाट बाहिरिएका थिए । भेलाको एजेण्डा र विषयका बारेमा आफूहरूलाई कुनै जानकारी नभएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिएका थिए ।

भेलामा सहभागी स्थायी समिति सदस्य रघुजी पन्तले वरिष्ठ नेता नेपालले बोलाएको भेला उचित रहेको भन्दै आफ्नो समर्थन जनाएका थिए ।

भेलामा भीम रावल, युवराज ज्ञवाली, छविलाल विश्वकर्मा, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, देव गुरुङ, अग्नि सापकोटा, देवेन्द्र पौडेल, गणेश शाह, रघुजी पन्त, गोकर्ण विष्ट, गिरिराजमणि पोखरेल र वर्षमान पुन लगायतका नेताहरू सहभागी थिए ।

यीमध्ये विष्ट, पोखरेल र पुन सरकारका बहालवाला मन्त्री पनि हुन् । अध्यक्ष ओली नेतृत्वको सरकारले गरेका पछिल्ला काम तथा नेकपामा प्रदेश इञ्चार्ज, सह–इञ्चार्जा, अध्यक्ष र सचिव तोक्दा मनोमानी गरेको विषयमा छलफल भएको छ । अध्यक्षद्वयले स्थायी समितिलाई उपेक्षा गरेर निर्णय गरेको असन्तुष्ट समूहको आरोप छ ।

प्रदेश नेतृत्व र संसदीय समिति गठनमा एकलौटी निर्णय गरिएको, मुख्यमन्त्रीहरूलाई मापदण्डविपरीत भूमिका दिइएकोमा नेपाल समूह असन्तुष्ट छ ।

सचिवालको प्रस्तावमाथि स्थायी समितिमा छलफल भई पारित हुनुपर्नेमा एकलौटी निर्णयलाई वैधानिक मान्न नसकिने नेताहरूको तर्क छ ।

भेलापछि नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले दुई ठूला वाम पार्टीबीच एकता हुँदा केही कुरा नमिलेको, समायोजनमा कार्यकर्ताको भावना अनुसार हुन नसकिरहेको बेला स्थायी समिति सदस्यहरूको राय बुझ्न नेता नेपालले भेटघाट र चियापानको आयोजना गरेको सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

भट्टराईले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, नेकपाको सचिवालय र प्रधानमन्त्रीको सचिवालयले काम गर्न नसकिरहेको लगायतका विषयमा छलफलमा कुरा भएको बताए ।

यी विषयमा नेताहरूले राखेको राय, सुझावलाई वरिष्ठ नेता नेपालले नेतृत्वसँग परामर्श गर्ने नेता भट्टराईले बताए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्किएपछि प्रदेश नेतृत्व टुंग्याउने सल्लाह गरेर अफ्रिका भ्रमणमा गएको नेपालले बताउँदै आएका छन् । तर, उनी नफर्किई एकतर्फी प्रदेश नेतृत्वको निर्णय भएको नेपाल समूहले आरोप लगाएका छन् ।

नेता नारायणकाजी श्रेष्ठ पनि देशबाहिर थिए । उनलाई पनि सबै नेताहरु बसेर मात्र टुङ्ग्याउने र विदेश जाँदा फरक नपर्ने अध्यक्षहरूले बताएका थिए ।

४५ सदस्यीय स्थायी समितिमा अध्यक्षद्वय ओली र प्रचण्ड पक्षका १३–१३ जना र नेपाल निकटका १२ सदस्य छन् । रामबहादुर थापा पक्षका ४, नारायणकाजी श्रेष्ठनिकट २ जना सदस्य समितिमा अटेका छन् ।

Published : Friday, 2018 September 28, 6:55 pm

1 प्रतिकृया प्राप्त “माधवको भेलामा झण्डा हल्लाउँदै पुगे मन्त्रीहरू, ओली–प्रचण्डलाई ‘थ्रेट’”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया