अटेरी इञ्जिनियर र ठेकेदारको सातो लिए वडाध्यक्षहरूले, कटुवा खोलामा डाइभर्सन

घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिकास्थित कटुवा खोलाको पुल निर्माणका क्रममा बनाइएको डाइभर्सन बिग्रिएपछि आवागमन प्रभावित भएको छ ।

सर्वसाधारणले दिनहुँ सास्ती खेप्नु परेपछि वडा नम्बर १५ का वडाध्यक्ष रमेश पाण्डेको नेतृत्वमा डाइभर्सन स्थल कटुवाखोला पुगेका वडाध्यक्षहरूले स्थानीय पेटी ठेकेदार पदम शर्मा, सडक भिजिन कार्यालय घोराहीका सिनियर इञ्जिनियर र इञ्जिनियरको सातो लिएका छन् ।

डाइभर्सन निर्माणका विषयमा वडाध्यक्षहरूले सोधीखोजी गरेपछि रिसाएका ठेकेदार पदम शर्माले ‘यो काम कसले गरेको हो त ?’ भनेर जंगिएका थिए ।

शुक्रबार कटुवा खोलास्थित पुल निर्माण स्थलमा पुगेका वडाध्यक्षहरूले डाइभर्सन बनाउन निर्देशन दिएको वडा नं. १५ का वडाध्यक्ष रमेश पाण्डेले जानकारी दिए ।

‘१४, १५ र १७ का वडाध्यक्षहरूले पुल निर्माण ठेकेदारलाई दवाव दिएर डाइभर्सन बनाउन निर्देशन दिएका हौँ’, पाण्डेले भने, ‘वडाध्यक्षहरूको दवावपछि डाइभर्सन बनाएर थोरै भएपनि आवागमनमा सहज बनाएका छौं ।’

ठेकेदार शर्माले पाँच वर्ष अगाडि ठेक्का लिएर लमही–घोराही सडकखण्ड अन्तर्गत कटुवा खोलाको पुल अलपत्र पारेका हुन् । उनले अझै पनि पुल पूरा गर्ने छाँटकाँट देखाएका छैनन् ।

सडक समयमा बनाउन नसकेपछि ठूलो आलोचना खेप्दै आएका ठेकेदार शर्मालाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेर जनकारबाही गरेको थियो ।

दुई महिना अगाडि पनि स्थानीय प्रशासनले ठेकेदार शर्मालाई थुनामा राखेर कागज गराइ पुल छिटो सम्पन्न गर्ने सर्तमा छाडिदिएको थियो । पुल बनाउने जिम्मेवारी लिएर समयमा काम नगरेकै कारण शर्मा दाङ जिल्लाभरि बद्नाम भएका छन् ।

कटुवा खोलको डाइभर्सन निर्माण र पुलको काम अनुगमन गर्न १५ का वडाध्यक्ष रमेश पाण्डे, १४ का वडाध्यक्ष सन्तराम डाँगी, वडा नम्बर १७ का वडाध्यक्ष खुसीराम चौधरी, उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायण भुसालसहितका व्यक्तिहरू गएका थिए ।

अनुगमनका क्रममा अप्रिय घटना हुन सक्ने भन्दै प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली पनि खटिएको थियो ।

Published : Friday, 2018 September 21, 7:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया