न्यायाधीशलाई महाभियोग लगाउने बारेमा के भन्छन् कांग्रेस ?

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाभियोग लगाउन लागेको तयारीका बारेमा नेपाली कांग्रेसले अहिले नै प्रक्रिया दिनु हतार हुने जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वरिष्ठ न्यायाधीश जोशीलाई नेकपाले महाभियोग लगाउन गरेको तयारीका विषयमा अहिले नै टिप्पणी गर्न आवश्यक नरहेको बताएका हुन् । नेकपाले जोशीले भद्र सहमति उल्लंघन गरेको भन्दै महाभियोग लगाउन आफ्ना सांसदहरूको हस्ताक्षर संकलन थालेको छ ।

‘महाभियोगबारे उपयुक्त समयमा प्रतिक्रिया दिने हो । अहिले कुन दलले के गरेको छ टिप्पणी गर्नु आवश्यक छैन’, नेपाली रेडियो नेटवर्कसँग शुक्रबार कुरा गर्दै प्रवक्ता शर्माले भने, ‘दीपकराज जोशी श्रीमानका बारेमा एउटा चरण पार गरेर आइसकेको छ । प्रधानमन्त्री आफैले प्रस्ताव गरेका वरिष्ठ न्यायाधीशका बारेमा पटक पटक त्यही कुरा दोहोर्‍याउनु उपयुक्त हुँदैन ।’

कांग्रेसका प्रवक्ता शर्माले वर्तमान कम्युनिस्ट सरकारले संविधान कार्यान्वयनमा ध्यान नदिएको आरोप पनि लगाए । ‘प्रदेशको नाम, राजधानी बन्न सकेको छैन’, उनले भने, ‘वित्तीय आयोग पनि बनेको छैन ।’

‘मुख्यमन्त्रीहरूको भेला पोखरामा अधिकारका लागि भइरहँदा प्रधानमन्त्रीजीले बालुवाटारमा वंश भेला गरेर बस्नु भयो’, उनले भने, ‘मुख्यमन्त्रीहरूले अधिकार माग्दा उहाँले दिन मान्नु भएको छैन ।’

Published : Friday, 2018 September 21, 12:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया