मूल्य वृद्धि फिर्ता गराउन कांग्रेसले सरकारलाई दवाव दिन्छः सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट नामधारी सरकारले जनतालाई मूल्य वृद्धि गरेर दुःख दिएको टिप्पणी गरेका छन् ।

गणेशमान सिंहको २१औं स्मृति दिवसको अवसरमा काठमाडौंको शोभाभगवतीमा मंगलबार आयोजित कार्यक्रमपछि सम्वाददाताहरूसँग कुरा गर्दै जनतालाई राहत दिने काम सरकारले नगरेको आरोप लगाए । सिंहले भने, ‘सुशासन र समृद्धिको कुरा उहाँले नारामा त धेरै गर्नुहुन्छ । तर जनताले त केही पाएका छैनन् ।’

प्रधानमन्त्री केपी ओलीप्रति कटाक्ष गर्दै नेता सिंहले भने, ‘हिजो राति मात्रै दशैंको मुखमा इन्धनको मूल्य बढाइएको छ । जनतालाई केन्द्रविन्दुमा राखेर यो सरकारले काम गरेकै छैन ।’ मूल्य वृद्धिको नेपाली कांग्रेसले विरोध गर्ने उनले बताए । ‘पेट्रोलियम पदार्थमा वृद्धि भएको मूल्य फिर्ता गरिनुपर्छ’, उनले भने, ‘चाढवाढको बेला जनतालाई राहत दिने बेला मूल्य वृद्धि गर्न पाइँदैन ।’

सरकारको गलत कार्यशैलीका कारण जनताले राहतभन्दा आहत बढी पाइरहेको भन्दै उनले नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए । कांग्रेसले आफ्नो क्षमताले भ्याएसम्म सदनदेखि सडकसम्म नियम कानुनभित्रै रहेर काम गरिरहेको नेता सिंहको भनाइ छ ।

‘यो सरकारले जनतालाई राहतको सट्टा आहत दिने र लोकतान्त्रिक मूल्य मान्यतालाई पन्छाएर केन्द्रीयता लाद्ने प्रयास गरेको कुरालाई हामीले जनतामा लगिरहेका छौं’, उनले भने, ‘कांग्रेसले तोडफोड गर्ने, अनियन्त्रित जुलुस निकाल्ने काम चाहिँ गर्दैन । यो सिस्टमको परिधीभित्र बसेर शान्तिपूर्ण तवरले आफ्ना कुराहरू गर्छौं ।’

नेता सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको आरोप लगाए । सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको आरोप उनले लगाए ।

नेता सिंहले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरूको इन्ट्रेष्टमा मात्रै यो सरकारले काम गरिरहेको छ ।’ प्रधानमन्त्री केपी ओलीले सुशासन र समृद्धिका कुरा बढी गर्ने गरेको भन्दै उनले भने, ‘तर काम कम गर्ने काम भएको छ ।’

स्वयम् प्रधानमन्त्री, सत्तारुढ दलका नेता तथा सांसदहरूका असन्तुष्टिले पनि यो सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा स्पष्ट हुने उनले बताए । सरकारको आलोचना गर्नेहरूविरुद्ध अरिंगाल बनेर जाइलाग्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रसंग जोड्दै नेता सिंहले भने, ‘हामीले त उहाँको केही टिप्पणीसमेत गर्न नहुने भइसक्यो । पत्रकारलाई हतकडी लगाएर लगिसकेको छ ।’

दुई तिहाइ बहुमत भए पनि वर्तमान सरकारले काम गर्नै नजानेको उनले दाबी गरे । उनले वर्तमान सरकारलाई फिस्टे चराको चालसँग तुलना गरे । ‘यो सरकारले राम्रो काम गरोस् भनेर हामीले सुरुमै शुभकामना दिएकै हो । अहिले पनि हाम्रो शुभकामना छ । तर के गर्ने फिस्टेको खुट्टैबाट चाल पाइन्छ भनेजस्तै यिनीहरुलाई म्यानेजै गर्न आउँदैन ।’

Published : Tuesday, 2018 September 18, 10:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया