संविधान दिवसविरुद्ध कुनै पनि कार्यक्रम छैनः संघीय फोरम

काठमाडौं । सत्तारुढ दल संघीय साजवादी फोरम नेपालले संविधान दिवसका दिन पार्टीले कुनै पनि कार्यक्रम नराखेको जनाएको छ ।

संघीय फोरमका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले सोमबार विज्ञप्ति जारी गरेर पार्टीले कुनै पनि कालो दिवस मनाउने जस्ता कार्यक्रमहरू गर्ने निर्णय नगरेको बताएका हुन् ।

‘संघीय समाजवादी फोरम नेपालले कालो दिवस मनाउने जस्ता कार्यक्रमहरूमा सहभागी हुन पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यस्ताखाले कार्यक्रमहरूमा सहभागी नहुने र यस सम्बन्धमा अन्य कुनै भ्रममा नरहन समेत सम्पूर्णमा ससफो नेपाल आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘संघीय फोरमले वर्तमान परिस्थितिमा संविधान संशोधनको माध्यमबाट संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका कमीकमजोरीहरूलाई सच्याउँदै, प्राप्त अधिकारहरूलाई संरक्षण गर्दै थप अधिकारहरू प्राप्त गर्न हाम्रो पार्टी र सरकारमा रहेका दलहरूसँग समझदारी भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधन गर्न सरकार सहमत भइसकेको वर्तमान् अवस्था कुनै पनि प्रकारको कालो दिवस मनाउने निर्णय पार्टीबाट भएको छैन ।’

संघीय फोरमले संविधानसभाबाट जारी गराइएको नेपालको संविधानप्रति आफ्नो असहमति, विरोध र फरक धारणा यथावत नै रहेको पनि जनाएको छ ।

संघीय समाजवादी फोरम नेपालले सत्तामा बसेर संविधान दिवसविरुद्ध असोज ३ गते कालो दिवस मनाउन लागेको भनेर समाचार आइरहेका बेला संविधान दिवस विरुद्ध कुनै पनि कार्यक्रम नरहेको जनाएको हो ।

साथै आफ्ना नेता तथा कार्यकर्तालाई कुनै पनि कार्यक्रममा सहभागी नहुन संघीय फोरमले निर्देशन दिएको छ ।

Published : Monday, 2018 September 17, 12:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया